
लस्करै राखिएका कम्प्युटर र सिक्दै गरेका दृष्टिविहीन विद्यार्थी । विद्यार्थीलाई सिकाइरहेका छन् छवि आले । जो आफैं पनि जन्मजात दृष्टिविहीन हुन् । छविले पोखराको अमरसिंह माध्यमिक विद्यालयमा आशिंक रूपमा दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर सिकाउन थालेको तीन वर्ष हुन लाग्यो । शिक्षक र अभियन्ताका रूपमा आफूनो ‘छवि’ बनाउन छविले वर्षौं संघर्ष गर्नुपर्यो । जुन संघर्घकै कारण अहिले उनी बलियोगरी दृष्टिविहीनका अभिभावक बन्न सफल भएका छन् ।
गोरखाको आरुघाट गाउँपालिकामा विसं २०५७ सालमा जन्मिएका छवि बुवा–आमाका चार सन्तानमध्येका तेस्रो सन्तान हुन् । उनका दुई दिदी र एक भाइ छन् । उनीसँगै एक दिदी र एक भाइ पनि दृष्टिविहीनकै रूपमा जन्मिए । चारमध्यै तीन सन्तान दृष्टिविहीन जन्मिएपछि बुढेशकालमा बाबु–आमालाई कसले हेर्छ भनेर गाउँले गम्भीर सवाल उठाए । यसको समाधानका लागि भनेर गाउँकाले पति–पत्नीलाई अलग गर्ने र अरूसँग बिहे गरिदिनेसम्म योजना बनाए । उनीहरू भन्ने गर्थे– छविका अभिभावकलाई बुढेशकालमा कसले हेर्छ ? ‘यस्ता बच्चाबच्ची जन्मिए यिनीहरूले भविश्यमा के गर्लान् ?’
छवि आज गाउँलेले उठाएका सबै शंकालाई चिर्दै अघि बढिरहेका छन् । उनी आफैं सक्षम बनेका छन् । आर्थिकरूपमा आत्मनिर्भर छन् । छविलाई आफ्नो खुट्टामा उभ्याउन भूमिका भने उनकै अभिभावकले नै खेलेका हुन् । छवि जन्मिएको गाउँ विकट थियो । चार वर्षमात्र हुन लाग्यो छविको गाउँमा बिजुली र मोटरबाटो पुगेको । ‘म जन्मिएको समय अर्थात् २०५७ सालतिर त गाउँ झनै अविकसित थियो । मगर गाउँमा जन्मिएको हुँ । गाउँलेमा रूढीवादी सोच व्याप्त थियो,’ उनी भन्छन् ।
तर, छविका बुवा–आमा धेरै पढेलेखेका नभए पनि साक्षर थिए । देश र समाज थोरै बुझेका भएर उनीहरूमा छोराछोरी पढाउनुपर्छ भन्ने भावना थियो । यहीबीच सुनमा सुगन्ध भयो । रामकुमार बस्नेत नामका एक शिक्षक गाउँमा सन्देश लिएर आए । सन्देश थियो, ‘आँखा नदेख्नेहरूका लागि गोरखामा पढाउने स्कूल आउँदै छ रे !’
शिक्षकको यो सन्देशले छविका अभिभावकले दृष्टिविहीन जेठी छोरीलाई विद्यालय भर्ना गर्ने सोच बनाए । बुवा बजार झरेर छोरी भर्ना गरी फर्किए । जेठी छोरीले राम्रो पढेको देखेपछि अभिभावकको विस्तारै सबै सन्तानलाई पढाउने मन बन्यो । छविका बुवा घरका एक्ला छोरा हुन् । बुवाले घर छोडेर हिँड्न लागेपछि हजुरबालाई घरखेत कसले जोत्छ भन्ने चिन्ता भयो । यसैले हजुरबाले एक्लो छोरालाई सबै सम्पत्ति जिम्मा लगाइदिए । यसपछि घरखेत र गोरु अरुलाई जिम्मा लगाइदिएर छविका बुवा–आमा २०६० सालतिर आफ्ना सन्तान लिएर गोरखा बजार झरे ।
‘त्यतिखेरको उहाँहरूको त्यो सोच र निर्णय देखेर म अहिले पनि छक्क पर्छु । यही निर्णयले हामीलाई अघि बढायो । यही भएर होला मलाई आफ्नो परिवार देखेर एकदम गर्व लाग्छ,’ आफ्ना अभिभावकको प्रशंसा गर्दै छवि भन्छन् ।
गोरखा झरेपछि छविको परिवारसँग आम्दानीको बलियो स्रोत थिएन । यसबीच खाने, बस्ने र पढ्ने खर्चको धेरै चिन्ता थिएन । अन्य आवश्यकता भने पुर्याउनु पथ्र्यो । जसोतसो धानिइरहेको थियो परिवार । त्यसैले छविका बुवा तीन वर्षका लागि मलेसिया हानिए । थोरै पैसा कमाए । गाउँ फर्किएपछि ज्यालामजदुरी गरेर छोराछोरी हुर्काए । अहिले चारैजना सन्तान आफ्नै तरिकाले जीवनमा अघि बढेका छन् ।
छविका गाउँमा उनको परिवारका सदस्यमात्र दृष्टिविहीन थिएनन् । सायद यो सिकाइ आमाबाट थियो छविलाई । अन्य पनि थिए त्यसक्षेत्रमा । पढाउन आफ्ना सन्तानलाई गोरखा झारेपछि छविकी आमाले अरुलाई पनि पढ्न बोलाएकी थिइन् । आमाका यिनै गुण छविमा सर्यो । त्यसैले होला छवि आफूहरूजस्ता दृष्टिविहीनको पक्षमा वकालत गर्दै हिँडेका छन् ।
‘त्यो बेला सीडीएमए फोन थियो । जो महंगो पथ्र्यो । यस्तोमा पनि आमाले गाउँमा सबैलाई फोन गरेर तिमीहरूका बच्चाबच्चीलाई पनि पढाउनुपर्छ भनेर बोलाउनुभयो । अहिले त्यो कुरा सम्झिँदा मलाई उहाँप्रति एकदमै गर्व लाग्छ,’ छवि भन्छन् ।
गोरखा बजारको विद्यालयमा १० जनालाई मात्र पढाउन मिल्नेगरी कोटा छुट्याइएको थियो । यद्यपि छविका गाउँमा धेरै दृष्टिविहीन थिए । सबैले पढ्न नपाउने अवस्था बन्यो । यो कुरा जिल्ला शिक्षा कार्यालयमा पुग्यो । त्यसपछि जलकुमारी मावि थुमीमा दृष्टिविहीनका लागि विद्यालय खुल्यो । यता, गोरखा बजारमा बसेर छवि, उनका दिदी र भाइ पढ्दै थिए । पढ्ने अवसर पाए पनि त्यहाँको वातावरण भने थोरै रुखो भएको छवि बताउँछन् ।
‘होस्टेलको वातावरण डोमिनेटिङ थियो । अलिकति हाँ–हुँ गर्नै नहुने । हामी खानै नपाएर होस्टेल आएजस्तो व्यवहार गर्ने । अहिले योभन्दा राम्रो नहोला, तर हामीलाई त्यस्तै व्यवहार हुन्थ्यो,’ आफूसँग यस्तै थुप्रै तीता अनुभव भएको भन्दै उनी प्रश्न गर्छन्, ‘त्यो बेलाका सबै कुरामा तीतै–तीता अनुभव भएपछि के तितो के मिठो ?’ यस्ता अनुभव सम्झिँदा छविलाई आफ्नो बाध्यकाल सुनौलो लाग्दैन । तर, यसलाई फरक ढंगले लिन्छन् उनी । बाल्यकालमा भोगेको हेपाइले आफूलाई आज यहाँ ल्याइ पुर्याएको छविको भनाइ छ । ‘मलाई मेरो बाल्यकाल सुनौलो भएजस्तो लाग्दैन । तर जे भयो त्यसमा म दुःखी हुनुपर्ने छैन,’ दार्शनिक शैलीमा उनले भने, ‘बाल्यकालको त्यही दुःखले नै मलाई यहाँसम्म पुर्याएजस्तो लाग्छ । सायद त्यही हेपाइले नै यहाँसम्म पुर्याएको हो,’
छविसँग बालापनका खाली नमिठा सम्झना मात्रै छैनन् । उनले रमाइलो क्षण पनि बिताएका छन् । छविको सानैदेखिको सपना थियो सञ्चारकर्मी बन्ने । नभए सामाजिक क्षेत्रमा काम गर्ने । सञ्चारकर्मी बन्ने रहर बोकेर हिँडेका छविको रेडियोमा बोल्ने रहर सानैमा पूरा भएको थियो । त्यससमय गोरखाका भर्खर–भर्खर रेडियोको क्रेज बढ्दै थियो । उनको विद्यालयमा पढाउने रमेश विष्टले रेडियोमा काम गर्थे । लुकेको कला देखाउने रेडियो कार्यक्रम थियो । रमेश सरले छविलाई बोल्न सक्छौँ ? भनेर सोधे । उनले गीत गाएर सुनाइदिए ।
‘त्योबेला माग्ने बूढा (केदार घिमिरे)ले गाएको प्रचण्डको बाक्लो जुंगा, गिरिजाबाबुको तालु भन्ने गीत खुब प्रशिद्ध थियो । त्यसपछि ल म भोलि रेकर्डर ल्याउँछु तिमी बोल है भन्नुभयो,’ छविले पुराना दिन सम्झिए । भोलिपल्ट उनले धुर्मुस (सीताराम कट्टेर) र माग्ने बूढाको नक्कल गरेर देखाए । रेडियो बज्यो । त्यसबेला छविले रेडियोमा बोलेको उनका साथीहरूले पनि सुने । अनि सबै रमाए ।
अनलाइन मिटिङले दिलाएको अवसर
एसएलसी सकेपछि थप अध्ययनका लागि छवि काठमाडौं गए । सञ्चारकर्ममा रुचि राख्ने उनले पुष्पलाल मेमोरियल कलेजमा पत्रकारिता विषय लिएर भर्ना भए । उनमा प्रविधिप्रति पनि रुचि थियो । सोही मेसोमा उनले राष्ट्रिय अपांग पुनःस्थापना संघमा कम्प्युटर सिक्ने अवसर पाए । पछि संघमा अरुलाई आफैं कम्प्युटर सिकाउन थाले । यसपछि उनलाई रोजगारीको बाटो खुल्यो ।
यहिबेला कोरोना भाइरस महामारी शुरू भयो । यसले गर्दा विभिन्न संघसंस्थाले अनलाइन मिटिङ गरिरहन्थे । ती अनलाइन मिटिङ छविका लागि क्षमता देखाउने अवसर बन्यो । त्यसपछि उनी २०७७ मंसिरमा पोखरा फर्किए । उनको क्षमता देखेर नेपाल नेत्रहिन संघ गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण सुवेदीले जागिर दिन पोखरा बोलाएका थिए । ‘पहुँचयोग्य (ब्रेल) पुस्तक प्रकाशनका लागि व्यवस्थापन गर्ने व्यक्ति चाहिएको रहेछ । त्यो गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको आठ महिने प्रोजेक्ट थियो,’ उनले भने ।
पुस्तक प्रकाशनमा खटिँदै गर्दा छविले अमरसिंह माविमा दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर पनि सिकाउन थाले । जो अहिले पनि उनी गरिरहेका छन् । अमरसिंह माविले कक्षा ३ देखि ८ कक्षासम्मका विद्यार्थीलाई कम्प्युटर सिक्ने व्यवस्था मिलाएको छ । छवि अहिले नेपाल नेत्रहीन संघ गण्डकी प्रदेशको महासचिवको रूपमा पनि कार्यरत छन् । सोहीमार्फत् उनी विभिन्न विषयमा आवाज उठाउँछन् । त्योसँगै ब्रेल पुस्तक प्रकाशन गर्न सहयोग र तालिम दिने काम गर्छन् । यही कामबाट छवि थप आत्मनिर्भर पनि बनेका छन् । छवि र उनका दिदी–भाइ दृष्टिविहीन छन् । उनीहरूले केही गर्न सक्दैनन् कि भनेर सहनुभूति देखाएका गाउँलेहरूलाई उनले आफू सक्षम भएर देखाएका छन् ।
छविको पहिलो कमाइ ९ कक्षामा पढ्दाको हो । तीजको कार्यक्रममा मिमिक्री गर्न बोलाएर उनलाई एक हजार रुपैयाँ पारिश्रमिक दिइएको थियो । साथै उनलाई प्रमाणपत्र दिएर खादासहित सम्मान गरिएको थियो ।
‘त्यो मेरो जीवनको पहिलो कमाइ हो । त्यो पैसाले मैले घरमा मासु ल्याएँ । बाबा–ममीका मोबाइलमा रिचार्ज गरिदिएँ । त्यो म अझै पनि बिर्सिन सक्तिनँ,’ उनी भन्छन् । त्यसो त उनले १२ कक्षा पढ्दैगर्दा नै कम्प्युटर सिकाउन थालिसकेका थिए । त्यताबाट समेत आम्दानी हुन्थ्यो ।
असहजतामा सहजताको खोजी
मिडियामा रुचि भए पनि छवि पत्रकार बनेनन् । तर, पढ्न भने रुचाउँछन् । साँझ एकपटक ल्यापटप खोलेर अनलाइन मिडिया अनिवार्य पढ्छन् । पुस्तक पढ्न उत्तिकै रुचाउँछन् । सबै पढ्न सहज पहुँच छैन । अंग्रेजी पुस्तक पढ्न मिल्नेगरी सुविधा छ । ‘नेपाली पुस्तक पढ्न थोरै झन्झट गर्नुपर्छ । यद्यपि ‘एक्लो’, ‘स्व’, ‘पल्पसा क्याफे’ र ‘पहेँलपुर’ पढेर सकाएँ,’ उनले भने, ‘पल्पसा क्याफेको अंग्रेजी माध्यममा रहेकाले पढ्न सजिलो भयो ।’ एपको मद्दतले पढ्ने भएर अंग्रेजी अक्षर छुट्याउन सहज हुने उनले बताए । पढ्नलाई उनीसँग सीमित स्रोत छ । यद्यपि उनी धेरै उपायको खोजी गर्ने गर्छन् । ‘अब मलाई मदन पुरस्कार पाएको ‘मुकाम रणमैदान’ पढ्न मन छ,’ उनले थपे, ‘सीमित स्रोतका कारण पढ्न पाएको छैन । असहज वातावरण छ ।’
शारीरिक हिसाबले दृष्टिविहीन भएकाले छवि सहज ढंग हिँड्न सक्दैनन् । तर, उनी इन्टरनेटका माध्यमले संसार घुमिरहेका छन् । ‘इन्टरनेटको दुनियाँमा म संसार घुमिराको हुन्छु । तर, मलाई बाहिर निस्केर कतै जानपर्यो भने गाह्रो हुन्छ । बाटोघाटो त्यस्तै छ । सार्वजनिक यातायात उस्तै छ । यस्तो हुँदा नरमाइलो लाग्छ,’ उनले सुनाए ।
सरकारी र विभिन्न निकायबाट पनि छविले उस्तै सास्ती भोग्नुपर्छ । ‘मैले जागिर खाएँ । जागिर खाइसकेपछि तलब आउने बनाउनलाई बैंकमा खोल्न जानुपर्ने हुन्छ । दृष्टिविहीनले अझै पनि सहज रुपले बैंक खातासमेत खोल्न पाउँदैनन्,’ उनले गुनासो गरे, ‘घर बनाउन कर्जा लिने विषय उस्तै चुनौतीपूर्ण छ । मजस्तो लेखपढ गर्नेलाई त गाह्रो छ भने अरूको के हालत होला !’
यद्यपि, समस्याबीच पनि छवि आशावादी देखिन्छन् । आफूहरूजस्ता दृष्टीविहीनले अरुले भन्दा थोरै बढी मिहिनेत गरे पुग्ने उनको अनुभव छ । ‘म एकदम आशावादी मान्छे हो । जिन्दगीमा केही कुरा सोचेकोजस्तो भइरहेको छैन भने पनि चित्त बुझाउँछु । जीवनमा गर्न नसकिने के नै छ र, फेरि भइहाल्छ नि भन्ने लाग्छ,’ मनोबल उच्च बनाउँदै उनी भन्छन्, ‘मसँग विशेष क्षमता पनि छैन । अरु मान्छेभन्दा कम पनि होइन ।’