
काठमाडौं, ३ माघ – उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ८५ हजार नयाँ धारा जडान गरिँदैछ । मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा मेलम्चीको पानी वितरणलाई सहज बनाउन थप ८५ हजार नयाँ धारा जडान गरिरहेको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा नयाँ धारा जडानको कामलाई तीव्र बनाइएको जनाएको छ । हालसम्म खानेपानी वितरणका लागि ३५ हजार धारा जडान गरिसकिएको मन्त्रालयका सचिव भीम उपाध्यायले लोकान्तरलाई बताए ।
हाल मेलम्ची खानेपानी आयोजना अन्तर्गतको उप –आयोजना कार्यान्वयन निर्देशनालयले धारा जडान गरिरहेको छ ।
आगामी असारसम्म ८५ हजार धारा जडान गरिसक्ने मन्त्रालयको भनाइ छ । ‘अहिलेसम्म ३५ हजार धारा जडान भइसकेका छन्,’ सचिव उपाध्यायले भने, ‘असारसम्म थप ५० हजार धारा जडान भइसक्नेछन् ।’सरकारले आगामी दशैंसम्म उपत्यकामा मेलम्चीको पानी ल्याइसक्ने प्रतिबद्धता जनाइसकेको छ ।
पुराना धाराले काम गर्दैनन् : केयुकेएल उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाका खानेपानीका पाइपको अवस्था कमजोर रहेको र यसले बढी चुहावटको समस्या देखिएको भन्दै नयाँ पाइप र धाराको व्यवस्था गर्नुपर्ने बताएको छ ।
केयुकेएलका अनुसार हाल उपत्यकामा झण्डै दुई लाख खानेपानीका धारा छन् । त्यसमध्ये १६ हजार पूर्णतः काम नगर्ने अवस्थामा छन् । ‘मेलम्चीको पानी वितरण गर्न र आपूर्तिमा सहजताका लागि नयाँ धारा जडान अत्यावश्यक छ,’ केयुकेएलका एक अधिकारीले भने ।
मन्त्रालयले भने पहिलो चरणमा ८५ हजार धारा जडान गरिने र क्रमशः पुराना धारा प्रतिस्थापन गरिने बताएको छ । ‘पहिलो चरणमा मात्र ८५ हजार धारा जडान गर्न लागिएको हो,’ सचिव उपाध्यायले थपे, ‘यसलाई क्रमशः विस्तार गर्दै लगेर पुराना पाइप र धारा पूर्ण विस्थापन गरिनेछ ।’
नयाँ जडान गर्न लागिएको धारा अत्याधुनिक प्रविधिको रहेको मन्त्रालयकोे दाबी छ । नयाँ पाइप जडान हुँदा यसले चुहावटको समस्या समाधान हुने मन्त्रालयको विश्वास छ । धारासँगै नयाँ मिटर पनि जडान गरिरहेको मन्त्रालयले बताएको छ ।
केयुकेएलकै अनुसार पुराना पाइप, धारा लगायतका कारण हाल वितरण गरिने पानीको झण्डै ४० प्रतिशत पानी चुहावटमै सकिन्छ ।
हाल केयुकेएलले दैनिक झण्डै १३ करोड लिटर पानी वितरण गर्दै आएको छ । यसमध्ये झण्डै पाँच करोड लिटर पानी चुहावटमै सकिन्छ ।
उपत्यकामा पानीको माग भने दैनिक ३८ करोड लिटर जति रहेको केयुकेएल बताउँछ । सरकारले पर्याप्त खानेपानी वितरण गर्न नसक्दा उपत्यकावासी काकाकुल बन्दै गएका छन् ।
मेलम्चीको पानी आए उपत्यकाले दैनिक झण्डै १७ करोड लिटर पानी पाउनेछ । यसलाई पनि थप विस्तार गर्दै जाने सरकारको योजना छ ।
मेलम्ची आयोजनाको कुल २७ किलोमिटरमध्ये अब करीब साढे ५ किलोमिटर मात्र सुरूङ खन्न बाँकी छ ।