०७ साउन २०८३, बिहीबार

सहकारी छानबिन समितिको प्रतिवेदन सर्वसम्मतिले तयार पारेका छौं : न्यौपाने

भदौ ३१, २०८१
काठमाडौं
सहकारी छानबिन समितिको प्रतिवेदन सर्वसम्मतिले तयार पारेका छौं : न्यौपाने

सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिकी सदस्य ईश्वरी न्यौपानेले संसद्‌लाई बुझाउन लागिएको प्रतिवेदन सर्वसम्मतिले तयार पारिएको बताएकी छन् । समितिका सदस्यबीच सर्वसम्मतिले प्रतिवेदन तयार पारिएको उनले बताइन् ।

देशभरका मुख्य समस्याग्रस्त २९ वटा सहकारीको छानबिन गरेको समितिले आज बिहानसम्म छलफल गरेर सर्वसम्मतिले प्रतिवेदन तयार पारेको उनले बताइन् ।

‘चारवटा टीओआरमा रहेर हामीले मुख्य समस्याग्रस्त २९ वटा सहकारीको छानबिन गरी प्रतिवेदनमा सर्वसम्मति जुटाएका छौं,’ समिति सदस्य न्यौपानेले लोकान्तरसँग भनिन्, ‘समितिमा सहकारीको रकम अपचलनबारे कसैले पनि तथ्यलाई मोड्न नसक्ने भएपछि सर्वसम्मति भएको हो ।’

सहमति गरेर आजै संसद्‌मा बुझाउने तयारी भएको उनले जानकारी दिइन् ।

हामीलाई चारवटा टिओर दिएकोमा, व्यापक छलफल गरेर आज बिहान ३ बजेसम्म सहमति गरेका छौं । धेरैको चासो चौथो बुँदामा के हुन्छ भन्ने छ । तर, हामीले बचत फिर्ता, व्यवस्थापन, नीतिगत सुधार कसरी गर्ने, अन्य सहकारीलाई कसरी सुधार्न सकिन्छ भन्नेमा गहन ढंगले सुझाव दिएका छौं । प्रतिवेदन लामै छ’ उनले भनिन् ।

प्रतिवेदनमा गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समिति स्रोतले जनाएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको समितिको ठहर छ । योसँगै रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा ११ बजे हस्ताक्षर हुँदै छ । लामिछानेको संलग्नता रहेको तथ्य खुल्ने थुप्रै विवरण प्राप्त भएपछि समितिले उनलाई पनि दोषी देखाएर प्रतिवेदन लेखेको हो ।

सूर्य थापा सभापति रहेको समितिमा दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल, ध्रुवबहादुर प्रधान र सरिता भुसाल सदस्य छन् ।​

रास्वपाबाट शिशिर खनाल र माओवादीबाट लेखनाथ दाहाल सदस्य छन् । तर उनीहरूले पनि छानबिन समितिको प्रतिवेदनमा सहमति जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्