
नेकपा माओवादी केन्द्रले आफ्ना कुरा राखेर संसद्को अवरोध हटाउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश भ्रमण जाने बेला गर्न लागेको सम्बोधनमा अवरोध नगर्ने माओवादीले प्रस्ट्याएको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले आफ्ना कुरा राखेर बैठक चल्न दिने बताएका हुन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बोल्नका लागि समय माग गरेका छन् ।
‘हामी संसद्को रेकर्डमा रहेको हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रधानमन्त्री विदेश भ्रमणमा जान लागेको विषयमा सदनमा बोल्न बाधा गर्दैनौं । हामी आफ्ना कुरा राखेर संसद् अवरोध हटाउँछौं’ पाण्डेले कार्यव्यवस्था समिति बैठकमा भनेका छन् ।
यसअघि एमाले सचिव योगेश भट्टराईले संसद्मा बोलेको ‘माओवादी हिंसा’ शब्द असंसदीय नभएको भन्दै सभामुख देवराज घिमिरेले भदौ २६ गतेको बैठकमा हटाउनु नपर्ने घोषणा गरेका थिए ।
हिंसा शब्द रेकर्डबाट हटाउन माग गर्दै माओवादीले भदौ २६ गतेको बैठक अवरुद्ध गरेको थियो भने भदौ ३० गतेको बैठक सूचनामार्फत स्थगित गरिएको थियो ।
संसद्को बजेट अधिवेशन सोमबार नै अन्त्य हुँदैछ ।