
नेपालमा पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट चल्ने कारको इन्जिन विकास भएको छ ।
काठमाडौं थापागाउँस्थित रिन्यु जेन रिसोर्सेस नेपालले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट चल्ने कारको इन्जिन विकास गरेको हो ।
दुवै प्रकारका विकल्पसहितको प्रविधिलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ ।
‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ जडान गरिएको कारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आज सोमबार शुभारम्भ गरे ।
पेट्रोल र हाइड्रोजन दुवैबाट चल्ने कारको इन्जिन निर्माणको नेतृत्व रिन्यु जेन रिसोर्सेसका हाइड्रोज विज्ञ डा. प्रकाश थापाले गरेका थिए ।
यो प्रविधि वातावरणमैत्री पनि भएको दाबी गर्दै डा. थापा भन्छन्, ‘तत्कालीन अवस्थामा हाइड्रोजन इन्धनको रिफ्युलिङ स्टेसन उपलब्ध नभएको खण्डमा गाडी चलाउँदाचलाउँदै हाइड्रोजन इन्धन सकियो भने पेट्रोलबाटै चलाउन मिल्छ, यो प्रविधि दक्षिण एसियामै नौलो हो । यसले नेपालका लागि सम्भावनाको नयाँ द्वार खोलेको छ ।’
यो प्रविधिको थप विकास र विस्तार गर्न सके थोत्रा भनेर थन्काइएका सयौं सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनले बताए ।
रिन्यु जेन रेसोर्सेस नेपालका कार्यकारी अधिकृत डा. प्रमोद टण्डनले आफूहरूको प्रयास सफल भएकाले गाडी धनीहरूलाई अब पेट्रोल र हाइड्रोजन दुवै प्रकारका ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प खुल्ला भएको बताए ।
इन्टरनेसनल हाइड्रो पोलिटिक्समा बेलायतबाट पीएचडी गरेका टण्डनले भने, ‘हाइड्रोजन कम्बसन इन्जिन नेपालमै विकास गर्नेसम्बन्धी समझदारी पत्रमा गत वर्ष ६ नोभेम्बरमा हस्ताक्षर भएको थियो, विभिन्न चरणहरू पार गर्दै हामी नेपालका लागि नौलो र वातावरणमैत्री हाइड्रोजन कम्बसन इन्जिनयुक्त कार परीक्षण गर्न सफल भएका छौं ।’
उनी भन्छन्, ‘हाइड्रोजन कम्बसन इन्जिनको सबैभन्दा ठूलो विशेषता के हो भने अहिले चल्तीमा रहेका सवारी साधनकै इन्जिनमा सामान्य फेरबदल गरेर, थोरै खर्चमा सञ्चालन गर्न सकिन्छ ।’
पहिलो चरणको यो प्रविधि सफल भएकाले अब दोस्रो चरणमा नेपालमै शतप्रतिशत हाइड्रोजन राखेर परीक्षण गरिने र त्यसपछि भारतमा समेत यो प्रविधि प्रदर्शन गर्ने लक्ष्य रहेको डा. टण्डनले बताए ।
‘नेपालमा नौलो प्रविधि’
नेपालमा पेट्रोल, डिजल र ग्याँसबाट चल्ने गाडीहरू बढी प्रयोगमा छन् ।
पछिल्लो समय ब्याट्रीबाट चल्ने गाडीहरूको किनबेच पनि तीव्र भइरहेको छ । यसबीचमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने हाइड्रोजन फ्युलसेल कार भित्र्याएपछि त्यसले धेरैको ध्यान तानेको छ ।
अहिले रिन्यु जेन रेसोर्सेस नेपालले विकास गरेको ‘डुअल मोडल’ इन्जिन विकसित मुलुकहरूमा सफल परीक्षण भइसकेको र व्यापारिक प्रयोजनमा समेत गइरहेको छ । तर, नेपालमा हालसम्म यस्तो प्रविधिको विकास नभएकाले यसलाई नौलो मानिएको छ ।
हाइड्रोजन नभएको अवस्थामा शतप्रतिशत पेट्रोल राखेर चलाउन समेत सकिने भएकाले यस प्रविधिलाई तुरुन्त व्यापारिक प्रयोजनमा लैजान सकिने दाबी गरिएको छ ।

कति लाग्छ खर्च ?
हाइड्रोजन कम्बसन इन्जिन विकास प्रक्रियालाई नजिकबाट नियालिरहेका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण मोत्राका अनुसार यो प्रविधि आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ । त्यसैले अब हाइड्रोजन कम्बसन इन्जिनको युगमा प्रवेश गर्नुपर्ने उनको मत छ ।
उनी भन्छन्, ‘अहिले चलनचल्तीमा आएको हाइड्रोजन फ्युल सेल मोडलभन्दा थोरै परिवर्तन गरेर डुअल मोडलमा हाइड्रोजनसँगै पेट्रोल–डिजल राखेर चलाउन सकिने भएको हुँदा आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ ।’
रिन्यु जेन रिसोर्सेस नेपालका प्रोजेक्ट म्यानेजर युवराज ढकालका अनुसार डुअल मोडल अर्थात् हाइड्रोजन कम्बसन इन्जिन अहिले नेपालमा पेट्रोलियम पदार्थबाट चलिरहेका सबैजसो सवारी साधनमा प्रयोग गर्न मिल्छ । र, यो काम थोरै मात्र खर्चमा गर्न सकिन्छ ।
‘पेट्रोल वा डिजलबाट चल्ने एउटा कारलाई हाइड्रोजनबाट पनि चलाउन मिल्ने बनाउन थोरैमात्र खर्च लाग्ने हाम्रो निष्कर्ष छ’, ढकाल भन्छन्, ‘कति खर्चमा तयार हुन्छ भन्ने कुरा पछि खुल्दै जानेछ ।’
‘लागतको हिसाबले अहिले सडकमा गुडिरहेका लाखौं सवारीलाई विद्युतीय बनाउन सकिने सम्भावना अत्यन्त न्यून छ,’ ढकाल भन्छन्, ‘यस्तो अवस्थामा हाइड्रोजन कम्बसन इन्जिन नेपालका लागि निकै नै उपयोगीसिद्ध हुने विश्वास छ ।’
त्यसका लागि आवश्यक पर्ने हाइड्रोजन उत्पादनलाई बढावा दिन पाइलट प्रोजेक्ट सञ्चालनको गृहकार्यसमेत भइरहेको ढकाल बताउँछन् ।
‘२०० किलोवाट हाइड्रोजन उत्पादनका लागि नेपालका हाइड्रोपावर कम्पनीका साथै विदेशी हाइड्रोजन कम्पनीसँग समझदारी समेत भइसकेको छ,’ उनले भने, ‘पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनको चरणमा छ ।’
कानूनी व्यवस्था गर्न मन्त्रालय तयार
गत ४ माघमा बसेको मन्त्रिपरिषद बैठकले ग्रीन हाइड्रोजन नीति स्वीकृत गरेको थियो । तर, त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि बनाउन भने बाँकी छ । त्यसैले यसको कार्यान्वयनमा भने अझै समस्याहरू छन् ।
अहिलेका सरकारी ऐन नियमले नेपालका लागि नितान्त नयाँ हाइड्रोजन ऊर्जाको प्रयोगलाई समेट्दैन । त्यसैले यसको प्रयोगसम्बन्धी एकीकृत मापदण्ड बनाउने र प्रचलित कानूनी व्यवस्थामा संशोधन गर्ने तयारी भइरहेको अधिकारीहरू बताउँछन् ।
पेट्रोल र हाइड्रोजन दुवै इन्धनबाट चल्ने कार शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।
प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाइड्रोजन नेपालले प्राकृतिक रूपबाट प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानूनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।