
मोरङको रतुवामाई नगरपालिका–६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आफ्नै श्रीमती भक्तकुमारी लुईटेलको नागरिकता बनाउन सरकारी कागजात किर्ते गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।
श्रीमतीको उमेर बढाएर सामाजिक सुरक्षा भत्ता अपचलन गरेको अभियोग लुईटेलमाथि थियो । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ३२ गते दायर गरेको मुद्दामा विशेष अदालतले वडाध्यक्ष लुइँटेललाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले वडाध्यक्ष लुइँटेललाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र दफा १७ बमोजिम ९ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
लुईटेललाई गलत लिखत तयार गरेकोमा दफा ९ बमोजिम १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद तोकिएको छ । यस्तै, सार्वजनिक सम्पतिको हानीनोक्सानी गरेको कसुरमा सोही ऐनको दफा १७ को व्यवस्था बमोजिम थप १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैद सजाय सुनाइएको विषेश अदालतले जनाएको छ ।
वडाध्यक्ष लुइँटेलले दोस्रो कार्यकालको लागि पनि निर्वाचित भएका थिए । उनले पहिलो कार्यकालमा नक्कली कागजात राखेर सिफारिस गरेका थिए । २०७५ सालको पहिलो कार्यकालमा श्रीमती भक्तकुमारीको नागरिकता प्रतिलिपिको विवरण किर्तेगरी सामाजिक सुरक्षा भत्ता वापतको रकम वितरण गरेको ठहर विशेष अदालतले गरेको छ ।
अख्तियारको अनुसन्धानमा सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता प्रदान गर्दा वडाध्यक्ष लुईटेलको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई लाभग्राहीको सूचीमा प्रविष्ट गरी/गराई सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको अक्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले आफ्नै श्रीमतीलाई सामाजिक सुरक्षा भत्ता खुवाउन उमेर नै बढाएका थिए । उमेर नपुगेको अवस्थामा नागरिकताको प्रथम प्रतिलिपिको लागि वडा कार्यालयबाट गरिने सिफारिसको व्यहोरामा उमेर बढाएर बदनियतपूर्ण ढंगले गलत लिखत तयार गरको खुलेको छ ।
अख्तियारले ईलाका प्रशासन कार्यालय रंगेलीलाई पनि विपक्षी बनाएको थियो । नागरिकताको प्रथम प्रतिलिपि जारी गर्न पेश भएको अनुसूचीको विवरण यकिन नगरी, प्रथम प्रतिलिपिका लागि विवरण माग तथा रुजुसमेत नगरी जन्ममिति फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै कर्मचारीलाई पनि कार्वाही गर्न अक्तियारले माग गरेको थियो । तत्कालीन वडासचिव र इलाका प्रशासन कार्यालय मोरङका कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरेकोमा उनीहरूले सफाइ पाएका छन् ।
अख्तियारले रतुवामाई नगरपालिका–६ का तत्कालीन वडा सचिव कल्पना बास्कोटाविरुद्ध १ लाख ४४ हजार बिगोसहित मुद्दा दायर गरेको थियो । यस्तै ईलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरुद्ध पनि सोही विगो दाबीसहित मुद्दा दर्ता भएको थियो ।
रतुवामाई नगरपालिका–६ का मेघदीप पोखरेल र उनकी श्रीमती तुलसादेवि पोखरेल पनि सोही मुद्दामा दोषी ठहर भएका छन् । पोखरेलले जेठी श्रीमती तुलसादेवीको नागरिकताको प्रथम प्रतिलिपिको फोटोकपीमा जन्ममिति सच्याई ज्येष्ठ नागरिक भत्ता पाउने लाभग्राहीको सूचीमा नाम प्रविष्ट गराएको विशेष अदालतको ठहर छ । पोखरेल नेकपा एमालेको वडा कमिटी अध्यक्ष हुन् भने अध्यक्ष पनि एमालेबाट निर्वाचित भएका हुन् ।
मेघदीपले नाम दर्ताका लागि अनुसूची– ३ (क) अनुसारको दरखास्त भरी रतुवामाई नगरपालिका वडा नं.६ को कार्यालयमा पेश गरेका थिए । वडाध्यक्ष लुइँटेलले निवेदन उपर छानबिन नै नगरी २०७५ साल भदौ १२ गते तुलसादेवीको नाम लाभग्राही सूचीमा प्रविष्ट गराई १ लाख ४४ हजार रुपैयाँ वृद्धभत्ता दिइसकेका थिए ।