२२ असार २०८३, सोमबार

भारतको मणिपुरमा ‘सापेक्षिक शान्ति’: खुले एक हप्तादेखि बन्द भएका विद्यालय

असोज १, २०८१
काठमाडौं
भारतको मणिपुरमा ‘सापेक्षिक शान्ति’: खुले एक हप्तादेखि बन्द भएका विद्यालय
फाइल तस्वीर ।

नयाँ दिल्ली- जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण बन्द भएको एक हप्तापछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मङ्गलवारदेखि विद्यालयहरू पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ ।

मणिपुरमा सन् २०२३ काे मेमा शुरू भएको  हिन्दू मेइतेई बहुमत र  इसाई कुकी समुदायबीच लडाइँका कारण कम्तीमा २००  जनाको ज्यान गएकाे स्रोतले जनाएको छ  ।
  
त्यही समयदेखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन् ।

केही समयको सापेक्षिक शान्तिपछि, पछिल्लो समय फेरि हिंसा बल्झिँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।

मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यू र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य तुल्यायो ।  

हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मङ्गलवारदेखि  सबै विद्यालयमा सामान्य कक्षाहरू पुनः शुरू गर्न सरकारी आदेश जारी गरिएको छ ।

मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न  आग्रह गरेका छन् ।   

यसैबीच अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्