
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ दल (पार्टी) खोलेको घोषणा गरेका छन् । दलको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ राखिएको छ ।
काठमाडौंमा मंगलवार भएकाे राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति बैठकबाट महताेले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् ।
निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया चाँडै अघि बढाउने महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय मुक्ति क्रान्तिको बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णयसमेत गरेको छ ।

देशका विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार र कुसंस्कारबाट देशलाई मुक्ति दिलाउन नयाँ दल खोलिएको महतोले बताएका छन् ।
‘देशका सबै पहिचान, वर्ग, समुदाय, धर्म, जात–जाति, क्षेत्र, लिङ्गका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु अपरिहार्य भएको छ,’ उनले भनेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् ।