१९ असार २०८३, शुक्रबार

सबैलाई संविधान पालना गर्न प्रेरणा मिलोस्ः सभामुख

असोज ३, २०८१
काठमाडौं
सबैलाई संविधान पालना गर्न प्रेरणा मिलोस्ः सभामुख

सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्ब रहेको नेपालको संविधान इमान्दारितापूर्वक पालना गर्न आवश्यक रहेको बताएका छन् । 

सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शुभकामना दिएका छन् । 

'नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन,' शुभकामना सन्देशमा भनिएको छ, 'तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो ।'

सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाइभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गरेका छन् । 

सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्दै उनले भने, 'संविधान दिवसका दिन सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गर्दछु । संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्