
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई संविधानले अधिकार सम्पन्न बनाएको बताएकी छन् ।
यसले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका साथै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उनले बताएकी छन् ।
संविधान दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट देशको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको उल्लेख गरेकी छन् ।
पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई शासनको मूल प्रवाहमा समाहित गर्न अवलम्बन गरिएको समावेशीकरणलाई लक्ष्यित वर्ग र समुदायमा अझै सशक्त रूपमा पुर्याउन आवश्यक रहेको उनले बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि देशको संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न तथा संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकारहरूको कार्यान्वयन गर्दै राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताइन् ।