
चाडपर्वलक्षित सुपथ मूल्य पसलहरू बिहीवारदेखि सञ्चालनमा आएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीवार थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा सुपथ मूल्य पसलहरू २४ जिल्लाका ६३ वटा स्थानमा सञ्चालन गरिएको छ । जसमध्ये काठमाडौंबाट बिहीवार उद्घाटन गरिएको हो । असोज ७ गतेभित्र देशभर ६३ वटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइसक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।
सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ ।
सर्वसाधारणहरूले सहुलियत दरमा के–के पाउँछन् ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका सुपथ मूल्यका पसलहरूमा चामल र दालमा प्रतिकिलोग्राम ५ रुपैयाँ छुटमा उपलब्ध गराइनेछ ।
त्यस्तै तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकिलो तथा प्रतिलिटर ७ रुपैयाँ छुट दिइने छ । त्यसैगरी कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा पनि प्रतिकिलो ७ छुट दिइएको छ ।
यसैगरी खसी/बोका तथा च्याङग्राहरूमा प्रतिकिलो १० रुपैयाँको सहुलियत प्रदान गरिने छ । देशभर ५ हजार मेट्रिक टन खाद्यान्न चामल बिक्री गर्ने लक्ष्य लिइएको जनाएको छ । व्यापार कम्पनीले १ हजार ५०० खसी–बोका र ३०० च्याङ्ग्रा ल्याउन लागेको छ ।
सहुलियत पसलका लागि खाद्य कम्पनीले ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । सर्वसाधारणलाई दिइने छुटका लागि ३ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
बागमती प्रदेशको प्रादेशिक कार्यालय थापाथलीमा रहेको छ । काठमाडौं उपत्यकाभित्र सुपथ मूल्य पसल नख्खु, ललितपुर, सिंहदरबारको पश्चिम गेटनजिक र भक्तपुरको सूर्यविनायकमा रहेको छ ।
