
एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत हो ।
कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको जनाएको छ ।
पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख नगद पुरस्कार पाएका छन् । त्यसैगरी तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल, र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

'सम्मानले खेलाडीहरूको हौसला झन् बढाएको छ । अब देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उद्देश्य रहेको छ,' पुरस्कार ग्रहण गर्दै पलेशाले भनिन् ।
पारा खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरूपमा पुरस्कार वितरण गरेका थिए ।

पलेशाले ऐतिहासिक पदक जितेपछि एनसेलले नगद पुरस्कारसहित अन्य सहभागी पारा खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । एनसेलले गत वर्षदेखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआरअन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।
