
बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गमा दुई वटा बाइपासको ‘ब्रेक थ्रू’ गरिएको छ ।
सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका अनुसार तीनवटा बाइपास मध्ये पहिलो र तेस्रो बाइपासको ‘ब्रेक थ्रू’ गरिएको हो ।
गत भदौ २६ गते १३० मिटर लम्बाइको तेस्रो बाइपास र असोज ४ गते १५१ मिटर लम्बाइको पहिलो बाइपास ‘ब्रेक थ्रू’ गरिएको सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।
अहिले मुख्य सुरुङ खन्ने काम पनि धमाधम भइरहेको छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमा हालसम्म झण्डै आधा खन्ने काम सकिएको छ ।
हालसम्म दुवैतर्फबाट गरी सुरुङमार्गको ५४५.५७ मिटर लम्बाइ खनिएको छ । उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीले जानकारी दिइन् ।
१६१ मिटर लम्बाइको दोस्रो बाइपास ११७ मिटर खनिएको छ । आयोजनाको कुल भौतिक प्रगति २२.८५ प्रतिशत हुँदा वित्तीय प्रगति २६.४ प्रतिशत भएको आयोजनाले जनाएको छ ।
बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रूपमा शुरू भएको थियो । आयोजनामा गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो ।
सुरुङ मार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर २४ सै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रूपमा काम अघि बढेको आयोजना प्रमुख इन्जिनियर ज्ञवालीको भनाइ छ ।
अबको केही दिनभित्र दोस्रो बाइपास पनि छेड्नेगरी तीव्ररूपमा काम भइरहेको इन्जिनियर ज्ञवालीले बताइन् ।