२६ जेठ २०८३, मंगलबार

भैरहवा–परासी सडक नबनेपछि संघीय सांसदसहितको टोली धर्नामा

असोज ४, २०८१
बुटवल
भैरहवा–परासी सडक नबनेपछि संघीय सांसदसहितको टोली धर्नामा

ठेकेदारले रुपन्देहीको रोहिणी गाउँपालिका- ४, सेमरहवास्थित भैरहवा–परासी सडक खण्ड समयमा नबनाएको भन्दै जनप्रतिनिधि धर्नामा बसेका छन् ।

शुक्रबार नेकपा एमालेका सचिव तथा संघीय सांसद छविलाल विश्वकर्मा, प्रदेश सांसद आशिष चौधरी र रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवसहित स्थानीयले सडकमा धर्ना दिएका हुन् ।

सडक डिभिजन कार्यालय बुटवलले विशेष मर्मत शीर्षकअन्तर्गत २ वर्ष अगाडि ३३० मिटर सडक मर्मतका लागि ठेक्का सम्झौता गरे तापनि अहिलेसम्म मर्मत नभएपछि दबाब स्वरूप नै सडकमा धर्नामा बसेको प्रतिनिधिसभा सदस्य विश्वकर्माले बताए ।

‘यति सडकका लागि किन धर्नामा बसेको भन्ने प्रश्न आउला, तर सडक नबन्दा जनताले सास्ती पाए । म यहाँको प्रतिनिधि हुनुको नाताले धेरैपटक ठेकेदार र सडक डिभिजन कार्यालयलाई मर्मत सक्न आग्रह गरेँ,’ सांसद विश्वकर्माले भने, ‘जति गरे पनि काम नै भएन । यसैले दबाब दिन धर्नामा बसेका हौं ।’

उक्त सडक ६८ लाखमा मर्मत गर्ने गरी निर्माण कम्पनी ओमकार बिल्डर्सले ठेक्का सम्झौता गरेको छ ।

सडक भत्काएर छाडिएकाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आउजाउ गर्न असहज भएको छ ।

जनप्रतिनिधिहरू सडकमा धर्ना बसेपछि सडक डिभिजन कार्यालय बुटवलले निर्माण व्यवसायीलाई सडक मर्मत स्थलमै बोलाएर कागज गराएको छ ।

सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर महेश्वर लम्सालले निर्माण व्यवसायीले अबको १० दिनभित्र काम सम्पन्न गर्ने लिखित कागज गरेको बताए ।

निर्माण व्यवसायी ओमप्रकाश भण्डारीले शुक्रबारदेखि नै सडकमा काम शुरू गरी १० दिन भित्र काम सम्पन्न गर्ने दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्