
दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो । सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु भएको हो ।
बेलैमा उपचार गर्न नमानेपछि शाहीको स्वास्थ्य गम्भीर भएपछि मात्रै अस्पताल ल्याइएको थियो । चेकजाँचका क्रममा क्षयरोग लागेको देखिएको थियो । क्यान्सरको आशङ्का गरी थप उपचार गर्न चिकित्सकको सल्लाह नमानेपछि शाहीलाई बस्ती ल्याउँदै गर्दा ज्यान गुमेको हो ।
गत वर्ष मात्रै आठ जना राउटेको मृत्यु भयो । २०८० जेठ २३ गते कर्णबहादुर शाही, असोज ८ गते तुलसी शाही र सिस्नेरी शाही, कात्तिक १९ गते महिनबहादुर शाही, मङ्सिर २७ गते सिमल शाही, पुस ९ गते भद्रबहादुर शाही, माघ २७ गते बालकुमारी शाही र माघ २८ गते भैरव शाहीको मृत्यु भएको राउटे समुदायमा काम गर्दै आएको दैलेखको सोसेक संस्थाको राउटे परियोजनाले जनाएको छ ।
परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले २०७५ सालयता मात्रै ४३ जना राउटेको मृत्यु भएको बताए। धेरै जसो राउटे बस्ने गरेको दैलेखको गुराँस गाउँपालिकामा २०७५ असारदेखि राउटे परियोजना लागु गरिएपछि राख्न थालिएको तथ्याङ्क अनुसार हालसम्ममा ४३ जनाको मृत्यु भएको हो । गोरखापत्रमा खबर छ ।