इटहरी, १७ कात्तिक—मंसिर २१ गते दोश्रो चरणमा हुने चुनावको लागि बिहिबार सुनसरीमा उत्साहप्रद मनोनयन दर्ता भएको छ ।

दर्ता गराउनेहरुमा वर्तमान सरकारका उपप्रधानमन्त्री विजय कुमार गच्छादार, वर्तमान अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, एमाले सचिव तथा प्रदेश एक संयोजक भीम आचार्य लगायतका छन् ।
४ लाख ७४ हजार ८ सय ३१ जना मतदाता रहेको सुनसरीमा बिहिबार विहान दश बजेबाट मनोनयन दर्ता सुरु भएको थियो ।
चुनावी मैदानमा बहालवाला उपप्रधानमन्त्री, मन्त्री र एमाले सचिव भीम आचार्यसँगै वनराज्य मन्त्री भगवति चौधरी, पुर्वमन्त्री तथा समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार राई समेत रहेका छन् ।
कांग्रेसका गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ मा प्रनितिधिसभाको लागि मनोनयन दर्ता गराए भने अर्थमन्त्रि कार्कीले सुनसरी क्षेत्र नम्बर चारबाट प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गराए ।
एमालबाट प्रदेश नम्बर १ को मूख्य मन्त्रीको दावेदारका रुपमा हेरिएका भीम आचार्यले भने प्रदेशसभाको लागि सुनसरी क्षेत्र नम्बर १ को ख बाट आफ्नो उम्मेदवारी दर्ता गराए ।
एमालेकै नेता तथा पूर्व वनराज्य मन्त्री भगवति चौधरीले सुनसरी क्षेत्र नम्बर तीनको प्रतिनिधिसभाको लागि मनोनयन दर्ता गराइन् । अघिल्लो चुनावमा झिनो मतान्तरले गच्छदारसँग पराजित चौधरी यो पटक पनि गच्छदारसँगैको चुनावी प्रतिस्पर्धामा छिन् ।
संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले भने सुनसरी क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभाको लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
राईलाई नेपाली कांग्रेसले सघाउने भएको छ । समाजवादी फोरमले चाहिँ अर्थमन्त्री कार्की उठेको सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसलाइ सघाउने छ ।
अघिल्ला चुनावमा ६ क्षेत्र रहेको सुनसरीमा ४ क्षेत्र कायम रहेको छ ।
हेभिवेट नेतालाई बागीको चिन्तासुनसरीका 'हेभिवेट' नेताहरुलाई मनोनयन दर्ताकै दिन बागी उम्मेदवारको तनाव भएको छ । गच्छदार उठेको सुनसरी क्षेत्र नम्बर तीनमा कांग्रेसकै प्रभावशाली नेता महेश बास्तोला बागी उम्मेदवार बनेका छन्
।
आफू दाबेदार रहँदा रहँदै अन्तिम समयमा गच्छदारले आफ्नो निकटका कुमार थापालाई प्रदेशसभामा उठाएकाले बागी दिएको बास्तोलाले बताए ।
यस्तै एमालेका भीम आचार्याविरुद्ध पनि एमालेकै बरुण राईको बागी उम्मेदवारी परेको छ ।
कार्कीविरुद्ध पनि सुनसरी कांग्रेसका पूर्व जिल्ला सभापति रामबहादुर बस्नेतले बागी हाल्ने चेतावनी दिएपनि अन्ततः ब्याक भए ।
उनले आफूले पनि उम्मेदवारी दिने पत्रकार सम्मेलननै गरेर बताएका थिए ।