नयाँ दिल्ली– युद्धग्रस्त म्यानमारबाट ९०० सन्दिग्ध आतङ्कवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको सूचना आएको बाहिरिएको छ । यससँगै भारतको उत्तरपूर्वी सीमामा सुरक्षा बललाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको एक सुरक्षा अधिकारीले बताएका छन् ।
मणिपुरलाई जातीय परिक्षेत्रमा विभाजन गर्दै मुख्यतया हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपले अशान्त बनाएको छ ।
पहाडमा बसोबास गर्ने कुकीहरूको म्यानमारका आदिवासी जनसङ्ख्यासँग सांस्कृतिक, पारिवारिक र धार्मिक सम्बन्ध रहेको छ । जहाँ सन् २०२१ मा सत्ता कब्जा गरेदेखि दर्जनौँ सशस्त्र समूह सेनासँग लडिरहेका छन् ।
मणिपुर सरकारका सुरक्षा सल्लाहकार कुलदीप सिंहले शुक्रवार स्थानीय गुप्तचर निकायबाट सन्दिग्ध आतङ्कवादीहरूले सम्भावित सीमा पार गरेको सूचना प्राप्त गरेको पुष्टि गरेका छन् ।
सिंहले सीमा चौकीलाई ‘सतर्क’ गरिएको र सुरक्षा बलले दुर्गम क्षेत्रमा ‘कम्बाइङ अपरेसन’ सञ्चालन गर्ने बताए ।
महिनौंको सापेक्ष शान्तिपछि, यस महिना मणिपुरमा विद्रोही समूहबीच रकेट र ड्रोन आक्रमण हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
गत हप्ता मेइतेई प्रदर्शनकारीहरूले कुकी समुदायलाई पछिल्लो आक्रमणको दोषी ठहराउँदै उनीहरूविरुद्ध कारबाहीको माग गर्दै राज्यको राजधानी इम्फाल हुँदै विरोध प्रदर्शन गरेका थिए ।
मेइतेई र कुकी समुदायबीच भूमि र सार्वजनिक रोजगारीको विषयमा लामो समयदेखि तनाव चलिरहेको छ ।
सरकारी तथ्याङ्कअनुसार दुई समुदायबीचको द्वन्द्वका कारण लगभग ६० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् भने कम्तीमा २०० जनाको मृत्यु भएको छ ।