१६ असार २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल शुरू

असोज ५, २०८१
काठमाडौं
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल शुरू
फाइल तस्वीर ।

सुदूरपश्चिम- ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि छलफल शुरू भएको छ ।

शनिवारको बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले तत्कालीन सरकार अल्पमतमा परेपछि उत्पन्न विशिष्ट परिस्थितिले प्रदेशमा बजेट शून्यताको अवस्था देखिएको र सो अवस्था हटाउन सरकारले अर्को बजेट ल्याउनु परेको बताए । 

बजेटमाथिको छलफलमा भाग लिने सत्ता र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले न्यायोचित ढङ्गले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

छलफलमा सत्तापक्षका विक्रमसिंह धामी, चक्रबहादुर मल्ल, जानकी ऐर बम, खुशिराम डगौरा थारू, प्रतिपक्षका अक्कलबहादुर रावल, गीतादेवी माल, खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीले भाग लिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की खेमादेवी विष्टले सरकार र जनप्रतिनिधिलाई कुनै ठाउँमा ‘चोर भन्ने गरिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति नेकपा (एमाले)का धर्मराज पाठकले नियमापत्ति जनाएका थिए । 

पाठकले ‘चोर’ शब्द असंसदीय रहेकाले यसलाई रेकर्डबाट हटाउनुपर्ने माग गरेपछि सभामुख भीमबहादुर भण्डारीले बोलिएको शब्दका बारेमा छानबिन गरेर आवश्यक परेमा हटाउने जानकारी गराएका थिए ।

यसअघि आर्थिक मामिलामन्त्री थापाले बजेटमाथि सभामा छलफल गरियोस् भनेर प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । 

सरकारले गत भदौ ३१ गते आव ०८१–८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गएको असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा सामान्य हेरफेर एवं परिमार्जन गरेर हालको सरकारले अर्को बजेट ल्याएको जनाइएको छ । -रासस
 

salt training

कमेन्ट गर्नुहोस्