
कोलम्बो-श्रीलङ्कामा शनिवार सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतगणनामा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायकेले अग्रता कायम गरेका छन् ।
आइतवार बिहानसम्मको मतगणनाअनुसार दिसानायकेले १० लाखभन्दा बढी अर्थात् ५२ प्रतिशत मत पाएका छन् । विपक्षी नेता साजिथ प्रेमदासा २३.३ प्रतिशत मतका साथ दोस्रो स्थानमा छन् भने रनिल विक्रमासिङ्घे १६ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
सन् २०२२ मा देखिएको चरम आर्थिक सङ्कटका कारण चलेको आन्दोलनका भरमा तत्कालीन राष्ट्रपति गोटबाय राजपाक्षले राजीनामा गरेपछि उनको स्थानमा त्यहाँको संसद्ले रनिल विक्रमासिङ्घेलाई चयन गरेको थियो । विक्रमासिङ्घेले राजपाक्षको पलायन र राजीनामापछि खाली रहेको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै सङ्कटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने काम गरेका थिए ।
सन् २०२२ को आर्थिक मन्दीको चरमोत्कर्षमा सत्तामा पुगेका वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को बेलआउटको शर्तअनुसार कडा मितव्ययिता नीति लागू गरेका थिए ।
राष्ट्रपति विक्रमासिङ्घेको कर वृद्धि र आईएमएफको २.९ अर्ब अमेरिकी डलरको बेलआउटअन्तर्गत मन्दीलाई सही दिशा दिन लगाइएका अन्य उपायहरूले लाखौंलाई जीविका चलाउनसमेत कठिन भएको थियो ।
गत वर्ष सरकारले विदेशी ऋण नतिरेपछि प्राप्त गरेको आईएमएफको उद्धार प्याकेजका शर्तहरूमा पुनः छलफल गर्ने अभियानको क्रममा विक्रमासिङ्घेले गरेका वाचालाई दिसानायकेले निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
आठ हप्ता लामो अभियानमा आर्थिक मुद्दाहरू हाबी भएका थिए र दुई वर्षअघि सङ्कटको चरमोत्कर्षमा पुगेदेखि भोगेका कठिनाइहरूप्रति व्यापक जनआक्रोश देखिएको थियो ।
आइतवारसम्म आधिकारिक नतिजा आउने अपेक्षा गरिएको छैन तर विदेशमन्त्री अली साबरीले प्रारम्भिक गणनाले दिसानायकेले जितेको स्पष्ट भएको स्वीकारोक्ति व्यक्त गरेका छन् ।
श्रीलङ्काका एक करोड ७१ लाख मतदातामध्ये करिब ७६ प्रतिशतले शनिबार सम्पन्न निर्वाचनका लागि मतदान गरेका थिए ।
सन् १९७० र १९८० को दशकमा दिसानायकेको मार्क्सवादी पार्टीले दुई असफल विद्रोहको नेतृत्व गरेको थियो जसमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
उनको दलले सन् २०२० को संसदीय चुनावमा चार प्रतिशतभन्दा कम मत प्राप्त गरेको थियो तर श्रीलङ्काको सङ्कटले ५५ वर्षीय दिसानायकेका लागि देशको नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । उनले श्रीलङ्काको ‘भ्रष्ट’ राजनीतिक संस्कृति परिवर्तन गर्ने आफ्नो प्रतिज्ञाको आधारमा समर्थनमा वृद्धि भएको बताएका छन् ।
‘हाम्रो देशलाई नयाँ राजनीतिक संस्कारको खाँचो छ,’ शनिवार मतदानपछि उनले भने ।
मितव्ययिता अस्वीकार
विक्रमासिङ्घेले श्रीलङ्काको आर्थिक मन्दीका बेला अर्थतन्त्रलाई स्थिर बनाउने र महिनौंदेखिको खाद्यान्न, इन्धन र औषधिको अभाव अन्त्य गर्ने कडाइका उपायहरू जारी राख्न नयाँ जनादेशको खोजी गर्दै पुनः निर्वाचनको घोषणा गरेका थिए ।
आर्थिक मन्दीका कारण उत्पन्न नागरिक अशान्तिका कारण विक्रमासिङ्घे पूर्ववर्ती गोटबाया राजापाक्षको कार्यालय परिसरमा हजारौँको सङ्ख्यामा आक्रमण गरेपछि राजापाक्षले देश छोडेर भागेर विदेशबाट नै राजिनामाको घोषणा गरेका थिए । विक्रमासिङ्घेले आफ्नो दुई वर्षे कार्यकालमा सडकमा शान्ति बहाली गर्नुका सार्थ धराशायी बनेको अर्थतन्त्रलाई सही दिशा दिन सफल भएका थिए ।
सन् २०२१ देखि २०२२ को बीचमा श्रीलङ्काको गरिबीदर दोब्बर भएर २५ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ जसले गर्दा दैनिक ३.६५ अमेरिकी डलरभन्दा कममा जीवन यापन गर्ने मानिसको जनसङ्ख्या २५ लाखभन्दा बढी पुगेको छ ।