०८ असार २०८३, सोमबार

चाडपर्व लक्षित सुरक्षा योजना : यातायात व्यवस्थापनदेखि गुनासो सुन्न क्यूआर कोडसम्मको व्यवस्था

असोज ६, २०८१
काठमाडौं
चाडपर्व लक्षित सुरक्षा योजना : यातायात व्यवस्थापनदेखि गुनासो सुन्न क्यूआर कोडसम्मको व्यवस्था

केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७०औं बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य आपूर्ति, शान्ति सुरक्षा र मौसमजन्य रोग नियन्त्रणलगायतका विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा शुक्रबार बसेको बैठकले यी निर्णयहरू गरेको हो ।

बैठकले चाडपर्वमा उपभोग्य वस्तुहरूको सहज आपूर्ति कायम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । बजार अनुगमनलाई सघन बनाउन सुरक्षाकर्मीको साथमा संयुक्त बजार अनुगमन सञ्चालन गर्न समितिले भनेको छ ।

त्यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमनमा आवश्यक जनशक्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

यातायात व्यवस्थापनको सन्दर्भमा सार्वजनिक यातायातको रुट परमिट, भाडादर निर्धारण, टिकट व्यवस्थापन तथा लामो दूरीमा सवारी चालक परिवर्तनको प्रावधान लागू गरिने समितिले जनाएको छ ।

यसैगरी समितिले चाडपर्वलाई लक्षित गरी शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गृह मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।

खाद्य स्वच्छता र गुणस्तरलाई ध्यानमा राख्दै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुग्ध पदार्थ, फलफूल, मासुलगायतका खाद्य वस्तुहरूको नमूना संकलन र परीक्षणलाई तीव्रता दिनेछ ।

बैठकमा सबै जिल्ला प्रशासन कार्यालयहरूमा उपभोक्ताको गुनासो सुन्ने क्यूआर कोड प्रणाली लागू गर्ने र आवश्यक सेवाहरू सार्वजनिक बिदाका दिनहरूमा पनि सुचारु गर्ने निर्णय भएको छ ।

राष्ट्रिय राजमार्गको मर्मत कार्य १० असोजसम्म सम्पन्न गरिने योजना रहेको छ भने जाजरकोट भूकम्पपछिको पुनर्निर्माणको कार्यलाई पनि तीव्रता दिने निर्णय गरिएको छ ।

प्रत्येक निर्णयको कार्यान्वयनको प्रगति साप्ताहिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्