०९ साउन २०८३, शनिबार
प्रहरी मुख्यालयमा सहकारी प्रतिवेदन

सहकारी ठगीमा रविमाथि अनुसन्धान गर्ने बाटो खुल्यो, गृहले पठायो संसदीय छानबिन प्रतिवेदन

असोज ६, २०८१
काठमाडौं
सहकारी ठगीमा रविमाथि अनुसन्धान गर्ने बाटो खुल्यो, गृहले पठायो संसदीय छानबिन प्रतिवेदन

गृह मन्त्रालयले सहकारी ठगी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ ।

गत बुधबार बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहलाई गत शुक्रबार मात्रै परिपत्र गरेर प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्णयअनुसार प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक परिपत्र गरिएको गृह सचिव गोकर्णमणि दुवाडीले लोकान्तरलाई ​जानकारी दिए ।

‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई आजै परिपत्र गरिएको छ, अब प्रहरी मुख्यालयले मातहतका कार्यालयमा निर्देशन दिने विषय प्रक्रियामै जाने भइहाल्यो,’ उनले भने ।

गृहको परिपत्र सँगै अब रवि लामिछानेमाथि अनुसन्धान गर्ने बाटो खुलेको प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए ।​

गृहमन्त्री रमेश लेखकले पनि आइतबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा डाकेर प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

सहकारी छानबिन विशेष समितिले सहकारीको सुधार, नियमन र सुपरीवेक्षणसँगै सहकारीमा बचतकर्ताको अपचलन भएको रकम फिर्ता ल्याउनेसम्मका सुझाव र सिफारिस गरेको छ ।

त्यसमा पनि पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कले सहकारीको ६५ करोड रुपैयाँ अपचलन गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो ।

समितिले लामिछानेका साथै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई), मदनकुमार रम्तेल र सञ्चालक छविलाल जोशी बन्जाडेलाई कारबाही गर्न सिफारिस गरेको छ ।

कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, पर्साको सानो पाइला सहकारी, बुटवलको सुप्रिम सहकारीका बचतकर्ताले लामिछानेविरुद्ध ठगीमा जाहेरी दिएका थिए ।

गत वर्ष माघमै कास्की प्रहरीमा लामिछाने र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलगायत १८ जनाविरुद्ध पूरक जाहेरी परेको थियो ।

गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका लामिछानेले पाँच वटा सहकारीबाट गोरखा मिडियामा आएको रकम अपचलन गरेका कारण उनले दायित्व लिनुपर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा समितिले गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईसहित २७ को नामै तोकेर पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन भनिएको छ ।

राई मलेसियामा लुकेर बसेको भनिए पनि प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा दुई जना उता पठाउँदा रित्तो हात फर्किएको थियो । 

रास्वपा सभापति लामिछानेलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउँदा राईको बयान समेत अनिवार्य देखिन्छ । कास्कीस्थित सूर्यदर्शन सहकारीको अनुसन्धान गरेका एक प्रहरी अधिकृतले भने,‘ पूरक जाहेरीका आधारमा रविलाई पक्राउ गर्न मिल्छ, तर बीचमा उपल्लो तहबाट ठूलै दबाब आएकाले उनको बयानसम्म लिइयो । मुख्य कुरा जीबी राईलाई पक्राउ गरेर ल्याउने बित्तिकै धेरै रहस्य खुल्दै जान्छन् ।’

राईलाई पक्राउ गर्न सरकारले माथिल्लो तहबाटै कूटनीतिक पहल गर्नुपर्ने प्रहरी अधिकारी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्