श्रीलंकामा पहिलोपटक राष्ट्रपतीय चुनावका क्रममा दोस्रो चरणमा मतगणना हुने भएको छ ।
हालै सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेका छैनन् । श्रीलंकाको चुनाव आयोगले दोस्रो र तेस्रो प्राथमिकताका आधारमा दिइएको मत गणना गर्न शुरू गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपतिको उम्मेदवारका रूपमा श्रीलंकामा मुख्य ३ जना प्रतिस्पर्धामा थिए । चुनाव आयोगले आयोजना गरेको एक पत्रकार सम्मेलनमा अनुरा कुमारा दिसानायके र सजीथ प्रेमदासाबाहेक अन्य उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिएको जनाएको छ ।
पहिलो चरणमा अनुरा कुमारा दिसानायकेले ४२.३१ प्रतिशत, सजीथ प्रेमदासाले ३२.७६ प्रतिशत र हालका राष्ट्रपति रानिल विक्रमसिंघेले १७.२७ प्रतिशत मत प्राप्त गरेका छन् ।
श्रीलंकामा चुनावी कानूनअनुसार कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएमा दोस्रो र तेस्रो प्राथमिकताका मतहरू गनिन्छ । यसअघि वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले अग्रता लिइरहेका थिए, तर उनलाई जित्न आवश्यक मत भने प्राप्त भएको छैन ।
विपक्षी नेता सजीथ प्रेमदासा उनका कडा प्रतिस्पर्धी मानिएका छन् भने हालसम्मको मत परिणामअनुसार वर्तमान राष्ट्रपति रानिल विक्रमसिंघे तेस्रो स्थानमा रहेका छन् । अर्थात्, विक्रमसिंघे प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
अनुरा कुमारा दिसानायकेले भ्रष्टाचारविरोधी कडा कदम चाल्ने र सुशासन दिलाउने प्रतिबद्धता गरेका थिए । उनको यो प्रतिबद्धतालाई आर्थिक संकटपछि व्यवस्थित परिवर्तन चाहने मतदाताहरूले आत्मसात गरेका छन् ।
२०२२ मा गोटाबाया राजपक्षेलाई राष्ट्रपति पदबाट हटाउन ठूलो विरोध प्रदर्शन भएको थियो । त्यसबेलादेखि श्रीलंकामा राष्ट्रपतिका लागि पहिलोपटक चुनाव भएको हो ।
यदि कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा दोस्रो चरणको मतगणना हुनेछ ।
श्रीलंकामा सन् १९८२ पछि भएका सबै राष्ट्रपतिको चुनावमा पहिलो चरणमै विजयी घोषणा हुँदै आएको थियो । तर, यसपटकको चुनावलाई देशको इतिहासमा सबैभन्दा प्रतिस्पर्धात्मक चुनाव मानिएको छ ।
यसपटकको चुनावमा १ करोड ७० लाख मतदाता रहेका छन् र चुनाव आयोगका अनुसार यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण चुनाव हो । तथापि, सुरक्षाका कारणले शनिबार राति कर्फ्यु लगाइएको थियो जसलाई आइतबार दिउँसो १२ बजेसम्मका लागि लम्ब्याइएको थियो ।
यो चुनावलाई सरकारको आर्थिक व्यवस्थापनमाथि जनमत संग्रहको रूपमा समेत हेरिएको छ । चुनावमा ७० प्रतिशत मतदान भएको छ । कुल ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा भने ३ जनाबीच देखिएको थियो ।
अनुरा कुमारा दिसानायकेले अहिले नै जितका लागि आवश्यक मत नल्याए पनि उनलाई प्रमुख प्रतिद्वन्द्वी विक्रमसिंघे र प्रेमदासाका समर्थकहरूले बधाई दिन थालेका छन् ।
विदेशमन्त्री अली साबरीले सामाजिक सञ्जाल 'एक्स'मा एक सन्देश लेख्दै चुनावले दिसानायकेको जीतको संकेत गरिरहेको बताएका छन् । आफूले विक्रमसिंघेका लागि प्रचार गरे पनि श्रीलंकाली जनताले आफ्नो निर्णय गरिसकेको उनको भनाइ छ ।
अनुरा कुमारा दिसानायकेलाई प्रेमदासाका समर्थक सांसद हर्षा डी सिल्भाले बधाई दिँदै फोन गरेको स्रोतको हवाला दिँदै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोलम्बोका अर्का सांसद एमए सुमनथिरनले दिसानायकेले जातीय वा धार्मिक कट्टरपन्थीको सहयोगविना नै प्रभावशाली जित हासिल गरेको बताएका छन् ।
श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि मुख्य चुनौती देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्नु र लाखौं जनतालाई गरिबीबाट मुक्त गर्नु रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमको भनाइ छ ।
श्रीलंकामा सन् २०२२ मा भएको आर्थिक संकटले गोटाबाया राजपक्षेलाई पदबाट हट्न बाध्य तुल्याएको थियो ।
संकटले गर्दा देशमा विदेशी मुद्रा सञ्चिति समाप्त भएको थियो र इन्धन तथा औषधिजस्ता अत्यावश्यक सामान आयात गर्न पनि श्रीलंका असमर्थ भएको थियो । अहिले श्रीलंकाको कुल ऋण ८३ अर्ब अमेरिकी डलर पुगेको छ भने मुद्रास्फीति ७० प्रतिशतले बढेको छ ।
अहिले दौडबाट बाहिरिएका राष्ट्रपति विक्रमसिंघेले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ३ अर्ब अमेरिकी डलरको सहयोग ल्याएका थिए । यो सहयोग अर्थतन्त्र सुधार गर्न महत्वपूर्ण भए पनि यसमा कठोर आर्थिक र प्रशासनिक सुधार आवश्यक रहेको बताइएको छ ।