
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफूलाई दशैंको आसपास संगठित अपराधको आरोपमा पक्रने प्रपञ्च गरिरहेको बताएका छन् । संसदीय छानबिन समितिले नै सहकारी ठगीमा आफ्नो संलग्नता नभएको भने पनि राजनीति नै सिध्याउन आफूलाई संगठित अपराध मुद्दामा पक्रिन खोजिएको आशंका उनले व्यक्त गरेका हुन् ।
‘मलाई पक्राउ गर्न दशैँ कुर्नु पर्दैन । आधार प्रमाणले यी चिज देखियो भन्नुस्, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन,’ मंगलवार फेसबूक लाइभमार्फत् लामिछानेले भने । तर छलछाम गर्ने, लडाउन र तर्साउन खोज्ने, मिडिया ट्रायल गर्ने तथा आफ्नो वरिपरि प्रहरी घुमाउने काम आफूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।
आफूलाई संगठित अपराधमा पक्रिन खोजे प्रतिवाद गर्न पनि उनले आफ्नो दलका नेता–कार्यकर्ता तथा आममानिसलाई आग्रह गरेका छन् ।
‘सहकारी ठगीमा म संलग्न छैन भनेर अदालतले, प्रतिवेदनले, समितिका सभापतिले, विभिन्न जिल्लाका प्रहरीले, महान्याधिवक्ताले, प्रधानमन्त्रीले, पूर्वप्रधानमन्त्रीले संसदमा सबैले स्पष्ट र लेखेर भनिसक्नुभएको छ,’ लामिछानेले भने, ‘यसका बीच भोलि राजनीति नै गर्न नसक्ने बनाउन पो सकिन्छ कि भन्ने ढंगले संगठित अपराधको मुद्दा लगाउन खोजिएको छ । छड्के आँखा, गलत क्रियाकलाप र षडयन्त्र गर्न खोजिएको खण्डमा साथीहरूलाई अलर्ट रहन अपिल गर्न चाहन्छु । अन्याय गरेछन् भने देशैभरका साथीहरूलाई यस्तो अपिल गर्छु ।’
सरकारले अन्याय गरे दशैं, तिहार र छठ नभनी आफ्नो पक्षमा उभिन पनि उनले सबैलाई अपिल गरेका छन् ।
‘यो मेरा लागि होइन, देशैभरका सहकारी पीडितको रकम फिर्ता गराउने अभियानमा पनि तपाईंहरू अलर्ट रहनुहोला । व्यक्तिका रुपमा मेरा लागि केही पनि गर्नु पर्दैन,’ लामिछानेले भने, ‘अन्याय हुँदा हिजो पनि साथीहरूले सघाउनुभएको हो । आज पनि सरकारले अन्याय गर्यो भने दशैं, तिहार छठ जे हुन्छ अन्यायका विरुद्ध उठ्नुहोला । रविको पक्षमा आउनु पर्दैन । अन्यायकाविरुद्ध जतिखेर पनि खबरदारी गर्नुपर्ने हुन्छ ।’
यसबीच पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले गोर्खा मिडियामा आएको पैसाको जिम्मेवारी भने लिने बताएका छन् । सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि नभएको दाबी गरेपनि उनले गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा भएको गैरकानूनी कामको जिम्मेवारी लिने बताएका हुन् ।
‘म रहेको कार्यकालमा भएको गैरकानूनी कुराको नैतिक, कानूनी, आर्थिक जे जिम्मेवारी लिनुपर्छ म तयार छु,’ उनले भनेका छन् ।
गोरखा मिडियामा सहकारीको रकम अपचलन भएको विषयमा सञ्चालक छविलाल जोशी बञ्जाडे पक्राउ परेपछि लामिछानेले पनि आफूलाई सरकारले पक्राउ गर्न सक्ने बताएका हुन् । जोशीलाई प्रहरीले असोज ६ गते पक्राउ गरेर पोखरा लगेको छ ।
नेकपा (एमाले)का सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सुप्रिप, सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारासहितका सहकारीबाट ६५ करोड रुपैयाँ अनधिकृत रुपमा गोर्खा मिडियामा आएको अनुसन्धानबाट पुष्टि गरेको थियो ।
यो रकममध्ये गोरखा मिडियामा प्रबन्ध निर्देशक हुँदा लामिछानेले एकल रुपमा २३ करोड रुपैयाँको चेक काटेको जनाइएको छ । यसरी आएको रकम अपचलनमा समितिले लामिछानेसहित गोर्खा मिडियाका सञ्चालक जीबी राई, छविलाल जोशी बञ्जाडे र मदनकुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरिएको हो ।