
बडा दशैं शुरू हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैंमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दशैंमा काठमाडौं छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।
दशैंका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौं छाड्ने र भित्रनेको सङ्ख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त ? जानकारहरू सडकको अवस्था नराम्रो नभएको बताउँछन् ।
कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दशैंसम्म ती काम पूरा हुनेमा उनीहरूको शङ्का छ । विशेषगरी काठमाडौं भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । तर दशैंसम्म पूरा हुने अवस्था भने देखिन्न ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताए ।
'खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरूकै हो', उनले भने, 'काठमाडौं उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दशैंसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ ।'
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्न सडक सुधारको योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए ।
उनका अनुसार दशैंसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए ।
चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताए ।
सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि छ अर्ब बजेट विनियोजन गरेको जनाइएको छ । सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ । जसमध्ये सात हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिए । रासस