२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

प्रहरीको सरुवामा गृहमन्त्री हाबी, माओवादीले रविलाई साथ नदिने

असोज ९, २०८१
काठमाडौं
प्रहरीको सरुवामा गृहमन्त्री हाबी, माओवादीले रविलाई साथ नदिने

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बडा दशैं शुरू हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैंमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौं छाड्ने अनुमान गरेको छ । 

यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दशैंमा काठमाडौं छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । 

जसअनुसार दशैंसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ ।
००००
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत हिजोराति हुने तय भएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । 
क्यानडाको किङसिटीमा राति ८ः४५ बजेदेखि हुने भनिएको खेल लगातार पानी परेपछि टससमेत हुन नसकी रद्द भएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफूलाई दशैंको आसपास संगठित अपराधको आरोपमा पक्रने प्रपञ्च गरिरहेको बताएका छन् । संसदीय छानबिन समितिले नै सहकारी ठगीमा आफ्नो संलग्नता नभएको भने पनि राजनीति नै सिध्याउन आफूलाई संगठित अपराध मुद्दामा पक्रिन खोजिएको आशंका उनले व्यक्त गरेका हुन् ।  

‘मलाई पक्राउ गर्न दशैँ कुर्नु पर्दैन । आधार प्रमाणले यी चिज देखियो भन्नुस्, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन,’ मंगलवार फेसबूक लाइभमार्फत् लामिछानेले भने । तर छलछाम गर्ने, लडाउन र तर्साउन खोज्ने, मिडिया ट्रायल गर्ने तथा आफ्नो वरिपरि प्रहरी घुमाउने काम आफूलाई स्वीकार्य नहुने उनको भनाइ छ ।
००००
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले नेपाल प्रहरीका ४१ जना एसपी र १४३ जना डीएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर लागुऔषधसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुने शिलशिलामा ग्रीसमा रहेको बेला विभागका एआईजी भीम ढकालले प्रहरी अधिकृतको सरुवा गरेका हुन् । 

यो सरुवामा निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको असहमति हुँदाहुँदै ढकालले गृहमन्त्री रमेश लेखकसँगको सहकार्यमा सरुवा गरेको बताइएको छ । आईजीपी कुँवरले एक साताअघि नै बुझाएको सरुवा सूची संशोधन गर्दै गृहमन्त्री लेखकले सरुवा सूची निकाल्न एआईजी ढकाललाई निर्देशन दिएसँगै सरुवाले वैधानिकता पाएको हो ।

आईजीपी कुँवरले जिल्लामा एसपी र इलाका प्रहरी कार्यालयमा डीएसपी पठाउँदा उनीहरूको ट्रयाक रेकर्ड हेरेर मात्रै पठाउनुपर्ने राय गृहमन्त्री लेखकलाई दिएका थिए । गृहमन्त्री लेखकले आईजीपी कुँवरलाई भने उनी ग्रीसबाट फर्केपछि मात्रै सरुवा सूची निकाल्ने आश्वासन दिएका थिए । 
सरुवा सूची निकाल्नुअघि आईजीपीसँग अनिवार्य परामर्श गर्नुपर्ने दायित्वबाट विमुख हुँदै एआईजी ढकालले गृहमन्त्री लेखकको निर्देशनलाई अक्षरशस् पालना गर्दै सरुवा गरेका हुन् । 
००००
हठात सत्ता छाड्नुपरेपछि विपक्षीका रूपमा सँगै मोर्चाबन्दीमा रहे पनि नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साथ नदिने भएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते नयाँ समीकरण बनाउने सहमति भएपछि असार ३० गते माओवादी र रास्वपा बाहिरिएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै आग्रहमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिई विश्वासको मतको प्रक्रियासम्म पुगेको थियो ।
००००
गोरखा मिडिया नेटवर्कका सञ्चालक समितिका सदस्य एवं पूर्वडीआइजी छविलाल जोशी बन्जाडेसँग मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले दुई घण्टा बयान लिएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले छविलालविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान शुरू गरेको छ । प्रहरीले नै उनलाई सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । 
००००
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा प्रकाशमानलाई हराएरै छोड्ने चेतावनी दिएका छन् ।

यसअघि दुवैपटक सिंहसँग हारेका मिश्रले सामाजिक सञ्जालमा लेख्दै सिंह आफूसँग हारेको दिन देशको वास्तविक रुपान्तरणको शंखनाद हुने घोषणा गरेका हुन् ।
००००
जग्गाको सिफारिस गर्दा घुस लिएको आरोप लगाउँदै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले वडाध्यक्षलाई नियन्त्रणमा लिएका छन् ।  

उनीहरूले ८० हजार रुपैयाँ नगदसहित झापाको बुद्ध शान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ‘गोपाल’ लाई मंगलवार नियन्त्रणमा लिएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ ।

मङ्गलबार नेप्से ५८.९३ अङ्कले घटेर २४७०.३९ को विन्दुमा कायम भएको हो ।

यस दिन बजारमा १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।
००००
शैक्षिक प्रमाणपत्र पेश गर्न नसकेपछि श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

स्नातक तह उत्तीर्ण भएको प्रमाणपत्र पेश गर्न समितिले मंगलबार दिउँसो ३ बजेसम्मको समय दिएको थियो ।

संसदीय सुनुवाइ विशेष समितिले मंगलबार उनको सम्बन्धमा निर्णय गर्ने तयारी गरेको थियो ।
००००
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार गरेको छ ।

आफूलाई थुनामुक्त गर्न माग गर्दै प्रसाईंले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मंगलबार कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटमा कारण देखाउ आदेश जारी गरेको हो ।
००००
२० औं सिनियर एसियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।
उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको हो ।

चीनको हान्झाउमा आयोजित २०औं एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरेका थिए ।
००००
सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली कास्कीको पोखरा जाने भएको छ ।

विभिन्न सहकारी ठगीसँगै अन्य वित्तीय अपराधको समेत अनुसन्धान गर्दै आएको सीआईबीमा विशेषज्ञ अनुसन्धान प्रहरी अधिकृतहरू रहेकाले सीआईबीलाई कास्की पठाउन लागिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्