
गृहमन्त्री रमेश लेखकले अध्यागमनको छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयबारे जनमानसमा नकारात्मक टिकाटिप्पणी हुने गरेको जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमनका बारेमा आममानिसमा राम्रो बुझाइ नभएको उल्लेख गरे । अध्यागमनमा कुनै खालको अवाञ्छनीय गतिविधि भए कुनै हालतले स्वीकार्य हुने उनले स्पष्ट पारे ।
सो अवसरमा गृहमन्त्री लेखकले विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम अध्यागमनका कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।

‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो,’ उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’
गृहमन्त्री लेखकले अध्यागमनका कर्मचारी सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको बताए ।
सो क्रममा अध्यागमनका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीलाई समयक्रमअनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए ।
अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडीसमेत विमानस्थल पुगेका थिए ।