२९ जेठ २०८३, शुक्रबार
सहकारीको रकम दुरुपयोग

सहकारी ठगी प्रकरण : कसरी रोकियो रविको गिरफ्तारी ?

असोज ९, २०८१
काठमाडौं
सहकारी ठगी प्रकरण : कसरी रोकियो रविको गिरफ्तारी ?

सूर्यदर्शनलगायत ५ वटा सहकारीको ६५ करोड रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गर्ने प्रमुख पात्रमध्येका एक रवि लामिछाने (तत्कालीन प्रबन्ध निर्देशक)का कारण यो विषय थप पेचिलो बन्दै गएको छ ।

सहकारीको रकम गोरखा मिडियामा ल्याएर लगानी गर्न जीबी राईलाई उक्साउने व्यक्ति नै रवि रहेको उनकै बिजनेस पार्टनर छविलाल जोशी बञ्जाडेले प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् ।

त्यतिमात्रै नभएर छविले रविलाई पक्राउ गरेर अनुसन्धान नगर्दासम्म सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दा अपूरो हुने बयान दिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

रविले मंगलबार सामाजिक सञ्जाल फेसबूकमा लाइभ आएर आफूले प्रहरी अनुसन्धानमा सघाउने र त्यसका लागि प्रहरी कार्यालय तथा अदालत सबै ठाउँमा जाने बताए । 

उनले गोरखा मिडियामा सहकारीबाट आएको ६५ करोड रुपैयाँको आर्थिक दायित्व समेत व्यहोर्ने बताएका छन् । आफ्नो वरिपरि प्रहरी घुमाएमा त्यो स्वीकार्य नहुने उनको चेतावनी छ । 

यसबीचमा प्रहरीले रविलाई पक्राउ गर्ने योजना पनि बनाइसकेको थियो । ‘गत आइतबार नै रविलाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा थियो, तर एकाएक होल्ड गर्ने निर्देशन आएर फर्किनुपर्‍यो,’ प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने ।

त्यसपछि छविको बयानका आधारमा पक्राउ गर्ने भनिएको थियो । छविले प्रहरीसँगै सरकारी वकिल कार्यालयमा दिएको बयानमा समेत रविको नाम पोलेका कारण पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुलेको ती अधिकृत बताउँछन् । 

त्यसो त गृहमन्त्री रमेश लेखकले समेत सहकारी ठगी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा गएको बताइसकेका छन् । लोकान्तरसँगको कुराकानीमा लेखकले प्रतिवेदन कार्यान्वयनमा कुनै समस्या नरहेको बताए । 

जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान गरिरहेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कास्की प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न विशेष टोली समेत पठाइसकेको छ । सीआईबीले रवि, जीबी र छवि पार्टनर रहेको गोर्खा मिडियामा गएको सहकारीको रकम र त्यसको अपचलनका बारेमा विस्तृत अनुसन्धान गर्ने भएको छ । 

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले सीआईबीको सहयोगमा कास्की प्रहरीले विस्तृत अनुसन्धान गर्ने बताए ।

उनले लोकान्तरसँग भने, ‘सहकारी समितिले कारबाही सिफारिश गरेका व्यक्ति तथा पदाधिकारीहरू अनुसन्धानको दायरामा आउनैपर्छ । क्लिन चीट पाए/नपाएको ठहर न्यायालयले गर्छ ।’

उनले समितिको प्रतिवेदनमा उपलब्ध र प्रहरी आफैंले गर्ने अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दायर हुने बताए । ‘कसैलाई जोगाउने र कसैलाई कारबाही गर्ने भन्ने हुँदैन,’ राईले भने, ‘अनुसन्धानमा प्राप्त प्रमाणले व्यक्ति आफैं खोज्छ । त्यतिबेला कसैले कसैलाई जोगाउन सक्दैन ।’ 

प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर रहेका बेला रविलाई पक्राउ गर्दा त्यसको अपजस सत्ता पक्षकै नेपाली कांग्रेसले मात्र लिनुपर्ने परिस्थितिको मूल्यांकनपछि कांग्रेसकै उच्च तहका नेताको दबाबमा गृहमन्त्री लेखक पछाडि हटेको स्रोत बताउँछ ।

‘रवि फण्डा गर्ने व्यक्ति हुन् । उनी पक्राउ पर्नेबित्तिकै सडकमा प्रदर्शन हुने र कांग्रेसविरुद्ध नै नाराबाजी हुने स्थिति आएमा त्यसको असर आगामी चुनावसम्म पर्ने आंकलन गर्दै रविलाई पक्राउ गर्ने तत्कालीन योजनाबाट प्रहरीलाई ब्याक गराइएको हो,’ स्रोतले भन्यो, ‘अब प्रधानमन्त्री आएपछि मात्र सल्लाह गरेर रविलाई नियन्त्रणमा लिने कि नलिने भन्ने निष्कर्षमा सरकार पुग्नेछ ।’

‘राजनीतिको आडमा सरकारलाई धम्क्याउँदै रवि’ 

रविले आफू ‘२१ सीट सांसद भएको पार्टीको सभापति र संसद्को चौथो दल’को नेता भएकाले जबर्जस्ती नगर्न सरकारलाई धम्क्याउँदै आएका छन् । 

अनुसन्धानको प्रक्रियामा जानुअघि नै पार्टी कार्यालयमा कार्यकर्ता भेला गरेर उनले प्रतिवादका लागि उक्साएका छन् ।

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरीले राजनीतिक शक्तिको आडमा रविले सरकारलाई ‘च्यालेन्ज’ गरिरहेको बताए । 

‘प्रहरीले गर्ने अनुसन्धान अब राजनीतिज्ञले गर्न थाले, यस्तो गाईजात्रा अरू मुलुकमा हुँदैन,’ डीआईजी ठकुरीले लोकान्तरसँग भने, ‘एउटै समितिको सिफारिशमा एउटा व्यक्ति पक्राउ परेका छन् । अर्को बाहिर बसेर सरकारलाई नै च्यालेन्ज गरिरहेका छन् । कार्यकर्तालाई आन्दोलन गर्न उक्साइरहेका छन् ।’

उनले राजनीतिक आडमा गरिने यस्ता गतिविधिले राज्य झन् कमजोर हुने र दण्डहीनता बढ्ने बताए । 

छविले यसरी पोले रविलाई

सहकारीबाट गोरखा मिडियामा दाखिला भएको रकमको औचित्यबारे छविले जीबी र रविलाई मात्र जानकारी हुने बयान दिएका छन् । 

उनले गोरखा मिडियाबाट आर्थिक वर्ष २०७७/०७८ मा ब्याजबापत १ करोड ५५ लाख भुक्तानी गरेको विषयमा समेत रवि र जीबीलाई नै थाहा हुने बताएका छन् । 

गोरखा मिडियाबाट नै गोपीकृष्ण मुभिज प्रालिमा २५ लाख रुपैयाँ पेश्की गएको विषयमा पनि उनले रवि र जीबीलाई पोलेका छन् । उक्त निर्णय प्रक्रियामा आफू सामेल नभएको छविको बयान छ ।

रविसँग आफू काठमाडौं जिल्ला प्रहरी कार्यालयको प्रमुख हुँदा चिनजान भएको र पछि गोरखा मिडिया नेटवर्कमा छिरेपछि सहकार्य भएको उनले उल्लेख गरेका छन् । छविले निर्णय प्रक्रियामा जीबी र रवि नै हावी हुने गरेको बयान दिएका छन् । 
 

कमेन्ट गर्नुहोस्