
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ)लाई नेपाल राष्ट्र र जनताको अधिकतम् हितमा सदुपयोग गर्ने सन्दर्भमा गहिरो चिन्तन गर्न जरुरी रहेको बताएका छन् ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)को सहकार्यमा नेपाल–चीनमैत्री युवा सङ्घ र फ्रेण्डसीप फोरम फर नेप्लिज जर्नालिष्टले आज आयोजना गरेको ‘बिआरआई अवसर र चुनौती’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले उक्त परियोजनालाई नेपाल र नेपाली जनताको भाग्य र भविष्यसँग जोड्नुपर्ने बताए ।
“पूर्वाधार विकास, कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआइले जोड दिएको छ”, अध्यक्ष दाहालले भने, “सो परियोजनामार्फत नेपाल र चीनले महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेमा आशावादी हुनसक्ने प्रशस्त सम्भावना छन् ।” उनले आगामी दिनमा ऊर्जा, सडक, पुल, रेल सम्पर्क विस्तारलगायत ठूला परियोजनामा नेपाल र चीनबीच साझेदारी हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले बिआरआइ परियोजनाबाट दुवै मुलुकले प्रशस्त लाभ लिनसक्ने जनाउँदै त्यसका लागि दुवै पक्षबाट इमान्दारिता, निरन्तर प्रयास र उच्चस्तरको समझदारी आवश्यक रहेकामा जोड दिए ।
बिआरआइले पूर्वाधार विकास, व्यापारिक सम्भावना विस्तार र क्षेत्रीय सम्पर्कका नयाँ अवसर प्रदान गर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले परियोजना कार्यान्वयनका क्रममा आउने चुनौतीलाई आपसी समझदारी र छलफलबाट समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।