०३ असार २०८३, बुधबार

हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि रातभर जाग्राम बस्न थाले स्थानीय

असोज १०, २०८१
काठमाडौं
हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि रातभर जाग्राम बस्न थाले स्थानीय
फाइल तस्वीर

शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ । एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र  हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताए । 

साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उनले बताए ।

गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा सदस्य जीवन पाण्डेयले जानकारी दिए । 

'स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीको सहयोगमा हात्तीलाई धान खेतबाटै निकुञ्जतर्फ फर्काउन सक्यौँ,' उनले भने, 'खेतबारीबाट हात्ती फिर्ता हुँदा नजिकै रहेका घरमा क्षति पुर्याउन सकेन । हात्तीको डरले खाद्यान्नदेखि महत्वपूर्ण कागजपत्र स्थानीयले आफन्तको घरमा सुरक्षाका लागि सारेका छौं।' 

वडा सदस्य पाण्डेयकानुसार एक साताको अवधिमा गर्जमुनीमा दुईपटक र खजुवामा दुईपटक गरी हात्तीको बथान चारपटक किसानको खेतमा छिरेको छ । 

हात्तीले पाक्न लागेको धानबाली खाएर नोक्सान गर्न थालेपछि स्थानीय रातभर पालो मिलाएर जाग्राम बस्न थालेका छन् । हात्तीलाई खेतवारीमा छिर्नबाट रोक्न टिन ठटाउने, हो हल्ला गर्ने, जानकारी दिन साइरन बजाउने, आगो बाल्ने, पटाका पडकाउनेलगायत कार्य गर्न थालिएको वडाअध्यक्ष चक्रबहादुर खड्काले बताए । 

'अप्रिय घटना नहोस् भनेर स्थानीयलाई सचेत पार्ने कार्यमा लागेका छौँ, हात्तीले धानबालीमा व्यापक नोक्सान गर्न थालेपछि निकुञ्ज कार्यालय र सुरक्षा निकायसँग पनि सहयोगका लागि अपिल गरेका छौँ,' उनले भने । 

हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रका वन क्षेत्रमा बस्ने र वर्षा घटदै गएपछि चुरे फेदीका बस्ती हुँदै समथर भू–भागमा पुगेर किसानको बालीनलीमा नोक्सानी पुर्‍याउने गर्दछ । प्रत्येक वर्ष हात्तीले मानवीय र भौतिक क्षति गर्दै आएको छ । तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट नगरपालिका क्षेत्रका चार जनाको ज्यान गइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्