
ठगी र बलात्कार मुद्दाका फरार तीन जना आरोपी दुबईमा पक्राउ परेका छन् ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका उनीहरूलाई दुबई प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भूपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी छन् ।
त्यस्तै जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की पक्राउ परेका प्रहरी मुख्यालयले जनाएको छ ।
पक्राउ परेकालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल ल्याइएको प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए ।
पक्राउ परेकामध्ये भूपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।
अर्का फरार बुढाथोकीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ मा र कार्कीलाई २०८१ असार १२ गते रेड नोटिस जारी भएको थियो ।