
चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ८ नेता भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् ।
गोरखा मिडियामा विभिन्न सहकारीबाट आएको करोडौं रुपैयाँ अपचलनमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चापछि उनीहरू नेपाल फर्किएका छन् ।
गोरखा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति लामिछाने पनि पक्राउ पर्न सक्ने चर्चाबीच उनीहरू भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन् ।
गत शनिबार ९ दिने भ्रमणको लागि १४ जना चीन गएकोमा ८ जना बिहीबार फर्किएका उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए । बाँकी ६ जना शुक्रबार फर्किँदै छन् ।
उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको मध्ये कार्यवाहक प्रवक्ता मनिष झा, कोषाध्यक्ष लिमा अधिकारी, सह कोषाध्यक्ष बसुमाया तामाङ, सांसद तोसिमा कार्कीसहितमा नेता फर्किएका हुन् ।
सभापति रवि लामिछानेले पनि सामाजिक सञ्जालमा लाइभ आउँदै आफूलाई सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।
सहकारी ठगीमा आफूले उन्मुक्ति पाएको दाबी गर्दै लामिछानेले गोरखा मिडियामा करोडौं रुपैयाँ अपचलकको जिम्मा आफूले लिने बताएका थिए ।
संसदीय समितिले गोरखा मिडियामा अनधिकृत रूपमा विभिन्न सहकारीबाट आएको ६५ करोड रुपैयाँको अपचलनमा गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालकहरू छविलाल जोशी र मदनकुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो ।
कारबाही सिफारिसपछि जोशी पक्राउ परिसकेका छन् । जीबी राई फरार हुँदा कुमार रम्तेल जेलमा छन् ।