
तीन दिनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ । पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक खुलाउनसुरक्षाकर्मी र स्वयंमसेवकहरू परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी खोलामा पहिरो झरेको छ । नौवहीनी गाउँपालिका–७ कालिमाटी स्थित मैरामारेदेखि बल्लेखोला जाने भित्री सडकमा पहिरो झरेको छ ।
अर्घाखाँचीस्थित पाणेनी गाउँपालिका–२ सालझण्डी ढोरपाटन सडक, गोरुसिंगे–सन्धिखर्क सडक दुई स्थानमा पहिरो झरेको छ । रोल्पाको शहीद मार्गको तीन स्थानमा पहिरो झरेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्ग, दाङ सल्यान राप्ती राजमार्ग, घोराही लमही–सडक खण्डको सेवार खोलामा जलसतह बढेकाले आवागमनमा समस्या परेको छ । पहाडी जिल्ला अर्घाखाँचीका केही स्थानमा पहिरोका कारण बस्ती जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ ।
सन्धिखर्क–११ धारामाथी बस्ने जुद्ध बहादुर नेपालीको घर अविरल वर्षाको कारण जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । शितगंगा नगरपालिका–७ जुवाकोट बस्ने दिलबहादुर सार्कीको टिनले छाएको २ तले कच्चीघर छेउमा जमिन भासिनुका साथै घरमा क्षति पुगेको छ । आठ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले विपद् प्रतिकार्य योजनामा जुट्न अपिल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अविरल वर्षाका कारण निम्तन सक्ने विपद्को प्रतिकार्यमा जुट्न अपिल गरेका छन् । तीनवटै सुरक्षा निकाय, नागरिक स्वंयमसेवक तथा युवा वर्ग विपद् प्रतिकार्यमा खटिएको र सहयोग गर्न जनस्तरमा अपिल गरे ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको हालसम्म बाढीका २८ वटा घटना घटेका छन् । जसमा परेर ९ जनाको मृत्यु भएको छ भने ४ जना घाइते र ८ जना बेपत्ता छन् । पहिरोका २१ वटा घटना घटेका छन् ।
जसमा परेर ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आगलागीका ४८ वटा घटना भएका छन् ।
जसमा परेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका थिए । चट्याङका १७ वटा घटना भएका छन् । जसमा परेर ४ जनाको मृत्यु भएको छ भन् २२ जना घाइते भएका छन् ।
पानीमा डुबेर ४८ जनाको मृत्यु भएको छ भने ७ जना घाईते र एक जना बेपत्ता छन् । मानव सिर्जित विपद्का घटनाले मानवीय क्षति बढी गराएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले बताए ।