१३ असार २०८३, शनिबार

वर्षाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध

असोज १२, २०८१
काठमाडौं
वर्षाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरूमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । 

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकाअनुसार काठमाडौंको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्रवक्ता घोषले काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको बताए । 

बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका छन् । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।

लैनचौर सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको गैह्रीधारा फिडर बन्द छ । टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल, सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर प्रभावित भएका छन् । 

नयाँ चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर प्रभावित भएका छन् । 

प्राधिकरणका प्रवक्ता घोषले विद्युत् आपूर्ति जतिसक्दो छिटो सुचारु गर्न टोली खटिएको बताए । तर, धेरै ठाउँ जलमग्न भएको र नदीको सतह बढेकाले लाइन चलाउन  अप्ठ्यारो भइरहेको उनले उल्लेख गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्