
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएको माइक्रो बस बुटवलबाट छुटेको पुष्टि भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा बुटवलका १३ जनाले टिकट काटेका थिए ।
सो गाडीका चालक रमेश लुइँटेल रहेका थिए । ‘बस हिजो शुक्रबार बिहान ८ बजे बुटवलबाट छुटेको हो’ खरेलले लोकान्तरसँग भने, ‘शनिबार दिनभर बसको खोजीलाई लागि जताततै हामीले सम्पर्क गरेका थियौँ । साँझ बल्ल गाडी पुरिएको खबर आउँदा बुटवलबाट गएको गएको हाम्रो गाडी रहेछ ।’
पश्चिम नेपाल बस व्यवसायी प्रालिका टिकट शाखाका कर्मचारी लक्ष्मण कार्की झ्याप्ले खोला पहिरोमा परेका सबै बुटवलका यात्रु रहेको बताए ।
‘यात्रुका आफन्तहरूले आफ्ना मान्छे सम्पर्कमा आएनन् भनेपछि हामीले गाडी खोजेका थियौँ’, कार्कीले लोकान्तरसँग भने, ‘धेरै बुटवलका यात्रु परे ।’
प्रहरीका अनुसार दुर्घटनास्थलबाट बस र माइक्रो बसका गरी १४ जनाको शव निकालिएको छ । यद्यपि मृतकहरूको सनाखत हुन बाँकी नै छ । अन्य पनि हराइरहेको आशङ्कामा प्रहरीले जारी कार्य जारी राखेको छ ।