३० असार २०८३, मंगलबार

बाढीले इलाका प्रहरी कार्यालय सिस्नेरीसहित ३० घर बगायो

असोज १२, २०८१
काठमाडौं
बाढीले इलाका प्रहरी कार्यालय सिस्नेरीसहित ३० घर बगायो

अबिरल वर्षासँगै आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालयको भवनसहित ३० वटा घरटहरा बगाएको छ । 

वर्षासँगै आएको आएको बाढीपहिरोले सिस्नेरी बजारस्थित इलाका प्रहरी कार्यालय भवनसहित ३० वटा घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । 

घरटहरा बगाए पनि त्यहाँ मानवीय क्षति नभएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ । यस्तै, अविरल वर्षाका कारण मकवानपुरको बकैया गाउँपालिका–१० घट्टेखोला नजिकै रहेका १० वटा घरहरू बागमती खोलाको पानीको बहाव बढेको कारण उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । 

यस्तै, भीमफेदी गाउँपालिका–८ स्थित कान्तिलोकपथ सडकअन्तर्गत वाग्मती खोलाको पुलको मकवानपुर जिल्लातर्फको मुखमा खोलाले खोली १० मिटर बाटो बगाएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ । सोही स्थानमा सामान राख्नका लागि बनाइएको जस्ताको छानो टहरो तथा केही निर्माणसम्बन्धी सामग्रीसमेत बगाएर लगेको प्रहरीले जनाएको छ । 

त्यस्तै, बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुईवटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबानका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्