१९ असार २०८३, शुक्रबार

बाढी पहिरोमा फसेका ११८ जनाको हेलिकप्टरबाट सकुशल उद्धार

असोज १३, २०८१
काठमाडौं
बाढी पहिरोमा फसेका ११८ जनाको हेलिकप्टरबाट सकुशल उद्धार

बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्‌मा परेका ११८ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको छ ।

​​गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ४० जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो ।​

काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ ।

प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरूको उद्धारमा सेनाले लगातार हवाई उद्धार गरिरहेको बताए ।

त्यसैगरी शनिबार काठमाण्डौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्