
पहिरोले विपदको ठूलो केन्द्र बनेको झ्याप्ले खोलमा अहिले सेना, प्रहरी र सशस्त्र प्रहरीका सय भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
उक्त स्थानमा चार वटा गाडी पुरिएकामा तीन वटा निकालि सकिएको छ । ति गाडीबाट सुरक्षाकर्मीले २९ जनाको शव निकालेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम केसीका अनुसार पुरिएका सवारीमा चितवन, गोरखा, बुटवल र पोखराका यात्रु आएको आशंका गरिएको छ ।
उनले मिडियासामु भने, ‘पहिरोले पुरिएका सवारीसाधन निकाल्ने काम भइरहेको छ । चार मध्ये तीन वटा सवारीसाधन निकालिसक्यो, बाँकी एउटा निकाल्ने काम भइरहेको छ ।’
घटनास्थल नजिकै एउटा ‘डेस्क’ खडा गरिएको छ। उक्त डेस्कमा मृतकका आफन्तले सोधपुछ एवं जानकारी गराउन सक्छन् । शवको सनाखत गराउने काम भने त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम पछि मात्रै हुने जानकारी एसपी केसीले दिए ।
‘हिलोले पोतिएका कारण केही शव पहिचान गर्ने अवस्थामा छैनन्, केहीमा घाउ चोट पनि लागेका छन्,’ केसीले भने, ‘सबै शवको पोस्टमार्टम भएपछि मात्रै सनाखत र पहिचानको काम हुन्छ ।’