नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
दुई दिनसम्म लगातार परेको वर्षापछि नवलपरासीका सरावल, सुस्ता र प्रतापपुर गाउँपालिकाका केही बस्तीहरू डुबानमा परेका छन् ।
नारायणी नदीमा उर्लिएको बाढीका कारण डुबानमा परेका ति क्षेत्रमा कांग्रेस नेता चौधरी उद्धारका लागि सुरक्षाकर्मीसहित स्थलगत निरीक्षणका लागि पुगेका हुन् ।
आज बिहान बाढी डुबान क्षेत्रमा पुगेका सांसद चौधरीले राहत र थप क्षति हुन नदिन उद्धारका काम तत्काल गर्नुपर्नेमा जोड दिए ।
उनले बाढी प्रभावित क्षेत्रको दीर्घकालीन समाधानका लागि आफूले काम गरिरहेको र तत्कालका लागि उद्धार र राहत वितरणमा कुनै कमी हुन नदिने बताए ।
'राहत वितरणको काम तत्काल शुरू हुन्छ । आजै यहाँ राहत पुग्छ । पुनःस्थापना र यसको स्थायी समाधानका लागि काम भइरहेको छ,' उनले भने ।
प्रतापपुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ऋषिदेव पटेलले ३०० बिघा धानबालीमा क्षति पुगेका बताए । केही घर पनि डुबानमा परेका उनले बताए ।
सरावल गाउँपालिकाको वडा नम्बर ६ मा पनि बाढीले क्षति पुगेको छ । बाढीका कारण सयौं बिघामा लगाइएको धानबालीमा क्षति पुगेको छ ।
वडाध्यक्ष छोटेलाल गुप्ताका अनुसार करिब ११ सय बिघामा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले नारायणी नदीबाट वर्षेनी हुने डुबानको स्थायी समाधानका लागि सरकारसँग निरन्तर पहल गर्दै आएका छन् ।
सरकारले दुई अर्ब ७७ करोड लागत हुने गरी दुई वटा डीपीआर तयार गरेर यो वर्ष करिब ४० करोड बजेट विनियोजन गरेको छ ।