
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।
उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् ।
तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी ६ वर्षीया छोरी मेघनालाई उद्धार गरेर बचाएका थिए ।
टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए ।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्यापछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए ।
उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफैं पौडेल उत्रिएका थिए भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ ।
‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए ।
संकटको बेला नै बहादुरहरूको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताए ।
आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देश विदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।
काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट शहीद परिवारका सदस्य हुन् ।
उनका दाइ तत्कालीन जनमुक्ति सेनाका कमान्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा ज्यान गुमाएका थिए ।