१९ असार २०८३, शुक्रबार

आन्दोलनपछि रंगेली नगरपालिकाले घटायो कर

असोज १५, २०८१
मोरङ
आन्दोलनपछि रंगेली नगरपालिकाले घटायो कर

विराटनगर । मोरङको रंगेली नगरपालिकाले चालु आर्थिक वर्षको कर घटाएको छ । सर्वत्र विरोध भएपछि करको दर घटाएको हो । 

मङ्गलवार  बसेको विशेष नगर सभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरिएको नगरपालिकाले जनाएको छ ।  नगरबासीले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको करको दरमा पुर्न विचार गर्न आग्रह गरे अनुसार संशोधन गरिएको नगर प्रमुख दिलीपकुमार अग्रवालले पत्रकार सम्मेलन गरेर जानकारी दिए । 

कर बढाएको भन्दै नेपाली काँग्रेस तथा अन्य नगर बासीहरूले विरोध गरेका थिए । विराटनगर। महानगरपालिकाका मेयर नागेश कोइराला समेत कर घटाउने आन्दोलनमा सहभागी भएको भन्दै आलोचना भएको थियो । तर मेयर कोइरालाले भने काँग्रेस मोरङको उपसभापतिको हैसियतमा सहभागी भएको बताएका थिए । 

नगरवासीले पुनर्विचारका लागि ध्यानाकर्षण गराएकाले पुरानै दर यथावत् गरिएको मेयर अग्रवालले बताए ।  पत्रकार सम्मेलनमा नगर प्रमुख अग्रवालले आगामी तीन वर्ष सम्म कर वृद्धि नगर्ने पनि घोषणा गरेका छन् ।  नगरपालिकाले अत्यधिक कर वृद्धि गरेको भनेर जनतामा भ्रम छर्ने काम भएको उनले बताए । 

प्रमुख अग्रवालले भने, ‘नगरपालिकाले वृद्धि गरेको करबाट वार्षिक करिब ३० लाख मात्रै आम्दानी हुने थियो । ३० लाखबाट एउटा कल्भर्ट बन्ने थियो होला । तीन वर्ष ३ वटा कल्भर्ट नबनाउँला ।’ 

नगरको वार्षिक आन्तरिक आम्दानी एक करोड मात्रै रहेको उनले बताए ।  आजको विशेष नगर सभा बैठकले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि पारित भएको सिफारिस दस्तुर गत आर्थिक वर्ष बमोजिम हुने, घरजग्गा कारोबार गर्नेको हकमा घर बाटो सिफारिस १ हजार लाग्ने, खोलको तटीय क्षेत्रका बाली नलाग्ने जग्गामा वडा समितिको निर्णयको आधारमा प्रतिकट्ठा ५ रुपैयाँ कायम गर्ने, वडा समितिले निर्णय गर्दा सर्जमिन गर्नुपर्ने भएमा सर्जमिन बापतको रकम नलिने, नम्बरी जग्गामा खर वा परालले छाएको घरको हकमा सो घरको घर कर पूर्णपुरमा निःशुल्क हुने निर्णय गरिएको मेयर अग्रवालले बताए । 

उनका अनुसार नगरपालिका भित्र विभिन्न प्रकारका सडकहरूले छोएको जग्गाको हकमा ३ कट्ठा थ्रेसहोल्ड मानी ३ कट्ठा जग्गाको मालपोत सोही प्रकरण अनुसारको लिने र बाँकी जग्गाको हकमा खेती योग्य जग्गा सरह मालपोत लिने, सुकुम्वासीको हकमा घर कर निःशुल्क गर्ने लगायतका निर्णय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्