
इरानले इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको छ । नेपाली समयाअनुसार मंगलबार साँझ इरानले इजरायलमाथि आक्रमण गरेको हो ।
इजरायली रक्षा सेवाका अनुसार इरानबाट करिब १८० मिसाइल प्रहार गरिएको हो । आक्रमणमा कसैलाई पनि गम्भीर चोटपटक नलागेको रक्षा सेवाले जनाएको छ । अधिकांशलाई रोकेको इजरायलले जनाएको छ ।
इजरायलले अर्को सूचना नभएसम्म सुरक्षित स्थानमा रहन आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।
यसैगरी इरानको सरकारी समाचार एजेन्सीले पनि तेहरानको सेनाले इजरायलतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको पुष्टि गरेको छ ।
यसअघि पनि अप्रिलमा इरानले इजरायलमाथि करिब ३ सय मिसाइल र ड्रोन हमला गरेको थियो ।
न्युयोर्कमा रहेको इरानका राष्ट्रसंघीय राजदूतले आफ्नो देशले इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणलाई आत्मरक्षाका लागि गरेको भन्दै त्यसको औचित्य पुष्टि गरेका छन् ।
संयुक्त राष्ट्र सुरक्षा परिषद र महासचिवलाई पठाएको पत्रमा इरानी राजदूत अमिर सईद इरावानीले वरिष्ठ हमास र हिजबुल्लाह नेताहरूको हत्यापछि ब्यारेज जायज भएको बताए ।
समकक्षीको टिप्पणीको जवाफ दिँदै इजरायलका राजदूत ड्यानी ड्याननले इरानको आक्रमणको पछिल्लो लहरको लागि बदला लिने चेतावनी दिएका छन् । 'हामीलाई युद्ध वृद्धिको कुनै चाहना छैन, तर हाम्रा नागरिकहरूमाथि यसरी आक्रमण भइरहेको बेला हामी चुप लागेर बस्न सक्दैनौं,' उनले भनेका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र त्यसको क्षतिपूर्ति दिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा बोल्दै, इजरायली प्रधानमन्त्रीले भने कि, 'जसले हामीलाई आक्रमण गर्छ- हामी उनीहरूलाई आक्रमण गर्नेछौं ।'
संयुक्त राष्ट्र संघ र ईयूले युद्धविरामका लागि आह्वान दोहोर्याएका छन्, संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक आज बस्दै छ ।