०५ साउन २०८३, मंगलबार
बढुवामा अलमल

बढुवा रोकिँदा दरबन्दी पूर्तिमा अवरोध: प्रहरी अस्पताल नेतृत्वविहीन, ४ प्रदेशमा एसएसपी रिक्त

असोज १६, २०८१
काठमाडौं
बढुवा रोकिँदा दरबन्दी पूर्तिमा अवरोध: प्रहरी अस्पताल नेतृत्वविहीन, ४ प्रदेशमा एसएसपी रिक्त

मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलले अनिवार्य अवकाश पाए । उनको ठाउँमा डीआईजी लालमणि आचार्यलाई पठाइयो । 

उक्त प्रदेशमा दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी छ ।

अहिले एसएसपी पठाइएको छैन । दुईमध्ये एकजना एसपी मात्रै कार्यरत छन् । एसपी वासुदेव खतिवडालाई सरुवा गरेपनि उनी काज मिलाएर प्रहरी मुख्यालयमै बसे । 

गत भदौ १६ गते बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी अनिवार्य अवकाशमा गएपछि डीआईजी कृष्णहरि शर्मालाई पठाइयो । केसी सँगै एसएसपी रविकुमार पौडेलले पनि अवकाश पाएका थिए । 

बागमतीमा दुईजना एसएसपीको दरबन्दी रहे पनि हालसम्म एक जनालाई पनि पठाइएको छैन । 

उता गण्डकी प्रदेशमा पनि एसएसपी पठाइएको छैन । भदौ १६ मा एसएसपी रवीन्द्र रेग्मीले अवकाश पाएपछि त्यहाँ कोही पठाइएको छैन । नजिकै रहको प्रदेश प्रहरी कार्यालयका एसएसपी ध्रुवबहादुर राउत र तालिम केन्द्रका एसएसपी मुकुन्द मरासिनीसँग सहयोग लिँदै आएको प्रदेश प्रहरी प्रमुख डीआईजी दुर्गा सिंहले बताइन् । त्यस्तै कर्णाली प्रदेशमा पनि कसैलाई पठाइएको छैन ।  

प्रदेश प्रहरी कार्यालयहरू क्रमशः लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशमा भने दरबन्दी अनुसार एसएसपीहरू कार्यरत छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपीको दरबन्दी खालि रहे पनि कोही पठाइएको छैन । पहिलेका डीआईजी पोषराज पोखरेलले अवकाश पाएपछि एसएसपी जीवनकुमार श्रेष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको थियो । अहिले श्रेष्ठले पनि अवकाश पाइसके । एसएसपी पठाइएको छैन ।

एसपी विश्वराज खड्का जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख भएर गएपछि ट्राफिक कार्यालयमा डीआईजी पछि एकैपटक डीएसपीले कमान्ड कन्ट्रोल गर्नुपर्ने अवस्था छ । 

अस्पतालकी प्रमुख एआईजी डा. आशा सिंहले अवकाश पाएपछि अस्पतालकै डीआईजीलाई बढुवा गरेर पदपूर्ति गर्नुपर्नेमा अझै गरिएको छैन ।

गत साउन १० गते नै अवकाश पाएकी सिंहको ठाउँमा एआईजी लैजान अस्पतालकै तीन डीआईजीमध्ये एक जनालाई बढुवा गर्नुपर्ने हुन्छ । 

प्रहरी अस्पताल प्रमुख बन्न तीनजना डीआईजीहरू क्रमश: एनेस्थेसिया विभाग प्रमुख डा. सुन्दरप्रसाद ह्योजु, जनरल सर्जरी विभागका प्रमुख डा. सञ्जयविक्रम श्रेष्ठ र हाडजोर्नी विभागका प्रमुख डा. गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धी तीनैजना २०५९ सालमा प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरू हुन् । ह्योजु र ठाकुर प्राविधिकतर्फको १३ औं ब्याचका हुन् भने श्रेष्ठ १४ औं ब्याचका अधिकृत हुन् ।

नियमित बढुवा नहुँदा खाली रहेका दरबन्दी पूर्ति गर्न नसकिएको प्रहरी मुख्यालयले जनाएको छ । 

हाल नेपाल प्रहरीमा प्राविधिकतर्फ एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सहित ४ हजार ७१ दरबन्दी खाली रहेको पाइएको छ ।

प्रहरी मुख्यालयका अनुसार गत भदौ १६ गते एक डीआईजीसहित अधिकृतहरूमात्रै (प्रहरी निरीक्षकसम्म) ६८ जनाले अवकाश पाएका थिए ।

भदौ महिना प्रहरीको कार्यसम्पादन मूल्यांकनको समय परे पनि असोजदेखि बढुवा प्रक्रिया खुलाउनुपर्ने सुझाव प्रहरी मुख्यालयले गृहमन्त्री रमेश लेखकलाई दिइसकेको छ । त्यही बीचमा गृहमा सचिव हेरफेर भयो । गृहसचिव एकनारायण अर्याल मुख्यसचिव बने । 

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार प्राविधिकतर्फ ५४२ र जनपदतर्फ ३ हजार ५२९ जनाको दरबन्दी खाली छ ।

मुख्यालयका अनुसार २ प्राविधिकसहित ७ डीआईजी, ४ प्राविधिकसहित १७ जना एसएसपी, २ प्राविधिकसहित १९ जना एसपी, एकजना प्राविधिकसहित ४७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २९ प्राविधिकसहित ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को दरबन्दी खाली छ । 

त्यस्तै, ११ प्राविधिकसहित २८ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ३० जना प्राविधिकसहित १०५ जना सई, ९५ जना प्राविधिकसहित ७२९ जना प्रहरी सहायक निरीक्षक (असई), ३५ जना प्राविधिकसहित १५९ जना वरिष्ठ हवल्दार, १३२ जना प्राविधिकसहित ६५ जना हवल्दार, ९७ जना प्राविधिकसहित १२३ जना सहायक हवल्दार, १०३ जना प्राविधिकसहित २ हजार ५३९ जना जवान र ४३ जना कार्यालय सहयोगीको दरबन्दी खाली रहेको प्रवक्ता कार्कीले जनाकारी दिए । 

असोज २२ गतेसम्म कार्यसम्पाद मूल्यांकनको काम नटुंगिने र प्रहरी नियमावलीले समेत यो अवधिमा बढुवा गर्न नमिल्ने भएकाले अहिले खाली रहेका दरबन्दी पूर्ति गर्न नसकिएको कार्की बताउँछन् । 

उनले लोकान्तरसँग भने, ‘खाली रहेको धेरै संख्याको पूर्ति आन्तरिक बढुवाबाटै हुने हो । अब दशैंपछि मात्रै बढुवा प्रक्रिया शुरू होला ।’ 

प्रहरी महानिरीक्षक ग्रिसबाट मंगलबार मात्रै स्वदेश फर्किएका छन् । उनले ‘मेरिट’का आधारमा मात्रै बढुवा गर्ने रणनीति बनाएका छन् । 

भदौ १६ मा अवकाश पाएका प्रहरी अधिकृतहरूको विवरण:

 

salt training

कमेन्ट गर्नुहोस्