२७ जेठ २०८३, बुधबार

माडीका गाईमा देखियो ‘क्यू फिवर’

असोज १६, २०८१
चितवन
माडीका गाईमा देखियो ‘क्यू फिवर’
फाइल तस्वीर

चितवनको माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ ।

मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो ।

नगरपालिकाका पशु शाखा प्रमुख डा. रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो ।​

कक्जियाला वोर्नेटाई नामक व्याक्टेरियाका कारण यो रोग लाग्ने उनले बताए ।

चार महिनाको गाई गर्भावस्थामा बिरामी परेर उपचारका क्रममा तुहिएपछि रोग पहिचानको काम गरिएको थियो । उनले भने, 'परीक्षणका लागि सालको टुक्रालाई प्रयोगशालामा पठाइएको थियो ।'

पीसीआर विधिबाट परीक्षण गरी रोग पहिचान गरिएको उनले बताए ।

जिल्लामा पहिलोपटक यो रोग देखिएको बस्ताकोटीले जानकारी दिए । उनले भने, 'जिल्लामा पहिलोपटक यो रोग देखिएको हो, यो रोग देखिए तीन हप्तादेखि तीन महिनासम्म औषधि चलाउनुपर्ने हुन्छ ।'

यो रोग लागेका पशु चौपायामा ज्वरो आउने, खाना नखाने लक्षण देखा पर्छ । सन् १९३५ मा यो रोग अस्ट्रेलियामा पुष्टि भएको थियो ।

यो रोग लागेका पशुलाई टोकेका किर्नाले मान्छेमा टोकेमा, काँचो दूधको सेवन वा काँचो मासुको प्रयोग गर्नाले मानिसमा पनि सर्ने गर्दछ ।

यो रोग लागेका मानिसमा ज्वरो आउने, छाती दुख्ने, निमोनियाँ हुने र हेपाटाइटिससम्म हुने बस्ताकोटीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्