
नेपाली विद्यार्थीहरूले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिंग र सेन्जेनमा भएको एसिया प्यासिफिक डिजिटल समिट- २०२४ को महत्त्वपूर्ण पिपुल्स चोइस अवार्ड जितेको छ ।
ह्वावे नेपालको सिड्स फर फ्युचर २०२४ कार्यक्रमअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै चीन गएको ६ जना नेपाली विद्यार्थीको टोलीले उक्त अवार्ड हात पारेको हो । टोलीमा समिप अर्याल, आशिष कार्की, एन्जेलिना घिमिरे, प्रियांशु शर्मा, साधना पन्थी र समृद्धि कार्की छन् ।
कार्यक्रममा विश्वभरका युवा प्रतिभाहरूको नविन सोचलाई बढावा दिँदै कयौं योजनाहरू समावेश गरिएका छन् ।
एसिया प्यासिफिक समिटमा १९ मुलुकका सयौं विद्यार्थीले सहभागिता जनाएका थिए ।

जसमा नेपाली विद्यार्थीले अल्ट्राकेयर नामक एआई व्यावसायिक उपकरण प्रस्तुत गरेका थिए ।
'अल्ट्रा केयर यात्रा सहज अल्ट्रासाउण्ड मशिन हो । जसले ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज सेवा दिन सक्छ,' नेपाली समूहका सदस्य समिप अर्यालले भने, 'यो उपकरणले सानो स्तरका स्वास्थ्य संस्थालाई एआई प्रविधिसँग जोड्नेछ । जसले भ्रूणको अवस्था पत्ता लगाई, त्यस विषयमा पर्याप्त जानकारी उपलब्ध गराउँदछ ।'
अर्यालका अनुसार मशिनले गर्भमा रहेको शिशु वा गर्भवतीमा कुनै स्वास्थ्य जटिलता आइपरेको खण्डमा सो उपकरणले समयमा नै परीक्षण गर्न सक्ने बताए । 'कुनै असामान्य परिस्थिति आइपरेको खण्डमा उपकरणले सिधै सम्बन्धित अस्पतालका चिकित्सकलाई जानकारी पठाएर महिलाको ज्यान जोगाउन सकिनेछ,' उनले भने ।
एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटले नेपाली विद्यार्थीहरूको नवीन सोचको उर्जालाई उजागर गरेको छ ।
सामाजिक हितका निम्ति प्रविधिको प्रयोग प्रति विद्यार्थीहरूको दृढ प्रतिबद्धतालाई अल्ट्राकेयरले प्रमाणित गरेको छ ।
ह्वावे नेपाल युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यका सशक्त नेतृत्व निर्माणमा लगातार समर्पित छ ।
