०५ साउन २०८३, मंगलबार

उदयपुरमा राज्यमन्त्री चढेको गाडीमाथि आक्रमण, ६ जना पक्राउ

असोज १६, २०८१
विराटनगर
उदयपुरमा राज्यमन्त्री चढेको गाडीमाथि आक्रमण, ६ जना पक्राउ

उदयपुरमा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई चढेको गाडीमाथि आक्रमण गर्ने ६ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विराटनगरबाट गएको प्रहरीको विशेष टोलीले उनीहरूलाई उदयपुरबाट बुधवार पक्राउ गरेको हो ।  

मंगलवार राति उदयपुरमा राज्यमन्त्री राईसहितको टोलीमाथि आक्रमण भएको थियो । राई उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी थिइन् । 

पक्राउ पर्नेमा ६ जनामध्ये नाबालिगसमेत रहेको कोशी प्रदेशका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले बताए । ‘केही नाबालक पनि पक्राउ परेका छन्,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छाैं । अनुसन्धान सकिएपछि नाम सार्वजनिक गर्छाै ।’ 

राज्यमन्त्री राई अनुगमन गर्न उदयपुरको उत्तरी र भोजपुरको दक्षिण क्षेत्र गएकी थिइन् । भोजपुर उनको गृह जिल्ला पनि हो ।  अनुगमन गरेर विराटनगर फर्कने क्रममा मंगलवार राति १० बजे उनी चढेको प्रदेश १–०४– ००१ झ ००३२ नम्बरको गाडीमा ६ जनाको समूहले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट गाडीमा क्षति पुगेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

उदयपुरको बेलका नगरपालिका वडा नं. ८ सिरवानीस्थित बिग्रिएको सडकको घुमाउरो ठाउँमा बेलुकी १० बजे अज्ञात समूहले ढुङ्गा हानेको प्रहरीले बताएको छ । राज्यमन्त्री राईले गाडी रोक्न नमानेपछि आक्रमण गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

प्रहरीका अनुसार राज्यमन्त्री राई फर्केर आएको रूट गाँजा तस्करहरूले प्रयोग गर्ने गरेका थिए । ‘त्यही बाटोबाट गाँजा ओसारपसार पनि हुँदो रहेछ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘गाँजा ओसारपसार गर्नेहरूसँग पैसा असुल्ने र धाकधम्की  दिने समूहले नै नचिनेर राज्यमन्त्रीको गाडीमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनीहरूले त्यहाँ लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको खुलेको अनुसन्धानमा खटिएका प्रहरीहरू बताउँछन् । आक्रमणपछि राज्यमन्त्री राईलाई प्रहरीले स्कटिङ गरेर विराटनगर ल्याएको थियो । 

अनुगमन टोलीमा मन्त्री राई, नेकपा (एमाले) आमचोक गाउँपालिका उपाध्यक्ष वसन्त राई र सचिवालयका सदस्यसहित ७ जना थिए ।  खुकुरी, भाटा र ढुङ्गा बोकेर आएका उनीहरूले गाडी छेक्न सडकमा मुढासमेत तेर्स्याएको राज्यमन्त्री राईले बताइन् ।  ‘गाडी नरोकी अगाडि बढेपछि ढुङ्गा हाने,’ उनले भनिन् । 

पक्राउ परेकाहरूलाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने उदयपुर प्रहरीले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्