
जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औँल्याएपछि प्रशासनले आज सार्वजनिक सूचना प्रकाशन गरेर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
खोटाङ तथा आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
“खोटाङ भएर दूधकोशी र सुनकोशीगरी दुई वटा नदी बहने गरेको छ । नदी तथा तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन सबैको सूचना जारी गरिएको छ”, उनले भने, “जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि आज साँझ जिल्ला सुरक्षा समितिको बैठक बस्यौँ । बैठकलगत्तै सार्वजनिक सूचना गरेर उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छौँ ।”
दश स्थानीय तह रहेको खोटाङमा यसअघि यही असोज १२ गतेसम्म परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका एक सय ३५ जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले ३३ वटा घर पुरिँदा विस्थापित बनेका उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
यही असोज १० गतेदेखि तीनसम्म लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले दुई जना स्थानीयवासी घाइते हुनुका साथै ३८ वटा घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी तथा पहिरोका कारण करोडौँको क्षति भएको जिल्लामा मानवीय क्षति नभए पनि १८ वटा पशुचौपाया पुरिएर मरेको प्रहरीले जनाएको छ ।
जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षतिमात्र रु ७९ लाख ९९ हजार बढीको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बाढी तथा पहिरोले जिल्लामा सञ्चालित विकासे योजना खानेपानी, सिँचाइ, विद्युत्लगायतमा समेत ठूलो क्षति पुगेको कार्यालय प्रमुखहरुले बताएका छन् ।