२० असार २०८३, शनिबार

जनतामा माओवादीप्रति नयाँ आकर्षण पैदा भएको दाबी गर्दै प्रचण्डले भने–  अब एक्लै चुनाव लड्ने हो

असोज १९, २०८१
काठमाडौं
जनतामा माओवादीप्रति नयाँ आकर्षण पैदा भएको दाबी गर्दै प्रचण्डले भने–  अब एक्लै चुनाव लड्ने हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । माओवादी केन्द्र दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार आयोजना गरेको भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । 

विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेकोले अब एक्लै चुनाव लड्ने उनको भनाइ छ । अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको पनि उनले बताए । त्यसको शुरूवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट उनले जानकारी दिए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानकै कारण आफू सरकारबाट हटाइएको पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले आरोप लगाए । जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उनले दाबी गरे । आगामी निर्वाचनमा एक्लै लडेर विजय प्राप्त गर्ने गरी तयारी थालिने उनले जनाए ।  

टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेकोले देशब्यापीरुपमा माओवादीप्रति आकर्षण देखिएको प्रचण्डको भनाइ छ । जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने गरी अगाडि बढ्ने उनले बताए । 

उनले यो वर्ष दशैँ–तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए । 

कार्यक्रममा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गरे । आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने उनले बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्