
नवलपरासी । नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको छ । सहरी क्षेत्र सुनसान बन्दै गएको बेलामा गाउँघरका पसल तथा बजारहरु स्थानीयको किनमेलको केन्द्र बन्ने गरेको छ ।
दसैँको टीकाको अघिल्लो दिन आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ इटौरामा लाग्ने हाटबजारमा किनमेल गर्ने स्थानीयको घुइँचो लागेको छ । फूलपातीकै दिनदेखि सहर बजार सुनसान बन्दै गएको अवस्थामा आज महानवमीको दिन यहाँको हाटबजार भने भरिभरिउ छ । अन्य बेलाको तुलनामा आज हाटबजारमा किनमेल गर्नेको सङ्ख्या अत्यधिक भएको कपडा व्यवसायी काशिराम कँडेलले बताए ।
“दसैँको अघिल्लो दिन भएर पनि होला । आज किनमेल गर्ने उपभोक्ताको ठूलै घुइँचो लागेको छ”, उनले भने, “अन्य शुक्रबारको तुलनामा आजको दिन चार गुणा बढी व्यापारसमेत भएको छ ।” दसैँमा घर आउँदा सामान खरिद गर्न नपाएका उपभोक्ताहरु घर नजिकै सस्तो र गुणस्तरीय सामान पाउने भएपछि हाटबजारमा आकर्षित भएका कँडेलको भनाइ छ । सहर बजारको पसलमा भन्दा हाटबजारमा लाग्ने पसलमा सामान सस्तो तर एउटै गुणस्तरको पाउनेसमेत कँडेलले दाबी गरे ।
स्थानीय कोल्हुवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद अर्यालले हाटबजार स्थानीय सामान बिक्री गर्ने सहज माध्यम भएको बताए । “आफ्नो बारीमा उत्पादन भएको फलफूल तथा तरकारी बिक्री गर्न समेत हाटबजार उपयुक्त माध्यम बनेको छ”, उनले भने, “धेरै उत्पादन हुनेले बिक्री गर्ने अनि आवश्यकता पर्नेले खरिद गर्ने थलो हाटबजार बनेको छ ।” हाटबजारले स्थानीयलाई सामान खरिद गर्न, बिक्री गर्न टाढा बजारमा जानुपर्ने अवस्थाको अन्त्य हुँदा समय र पैसाको समेत बचत भएको उनको भनाइ छ ।