२८ जेठ २०८३, बिहीबार

क्षति नभएकाले राहत लिए, वास्तविक बाढीपीडितले पाएनन्

असोज ३०, २०८१
सुनसरी
क्षति नभएकाले राहत लिए, वास्तविक बाढीपीडितले पाएनन्
फाइल तस्वीर

हालैको अविरल वर्षाका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो । 
वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा बग्यो भने ओढ्ने ओछ्याउने पनि लगातारको झरीले हप्तौँसम्म सुक्न पाएनन् । विपद्का बेला कसैले सहयोग नगरेको र तीन दिनसम्म भोकै बस्नु परेको पीडा गहभरि आँसु पारेर उनले सुनाइन् । 

सोही स्थानकी कुमारी खत्वेको अवस्था पनि उस्तै रह्यो । सहायता सामग्री वितरणमा पालिकाले विभेद गरेको भन्दै उनी क्रुद्ध छिन् । स्थानीय सरकारबाट सहयोग नपाउने परमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका प्रतिनिधि पात्र हुन् ।  नरसिंह गाउँपालिकाका अधिकांश बाढीपीडितले राज्यबाट सहायता नपाएको गुनासो गरेका छन् । 

राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार १५ हजारका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताए । 

बाढीबाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका–७ का अर्का पीडित चमरु मण्डलले गुनासो गरे । पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उनको दाबी छ । 

यसैबीच, बाढीपीडितले राज्यका कुनै निकायबाट सहयोग नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका–३ नम्बर वडा कार्यालयमा सोमबार विरोधप्रदर्शन गरेका थिए । साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय तराचन मण्डलले बताए । 

वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताए ।

बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्