
लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडान नभएको भन्दै आलोचना भइरहेका बेला भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)मा ‘विन्टर सिजन’ शुरू भएसँगै तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान गर्ने तय भएको छ ।
जीबीआईएबाट यसअघि पनि कुवेतको जजीरा एयरलाइन्स नेपालकै निजी हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले अन्तर्राष्ट्रिय उडान गरिसकेका छन् ।
करिब अढाई वर्षअघि २०७९ को जेठमा सञ्चालन शुरू भएयता जजीराले केही समय उडान गरेर आफ्नो सेवा बन्द गरेको थियो भने हिमालयले पनि मलेसिया उडान गर्ने प्रयास गरेको थियो ।
नेवानिले भने आफ्नो मलेसिया उडान अहिलेसम्म पनि जारी राखेको छ ।
यो बीचमा विदेशी कम्पनीले पटक-पटक उडानमा चासो देखाउने गरेका थिए, तर वास्तविक उडान भने हुन सकेको थिएन । दशैंलगत्तै तीनवटा कम्पनीले उडान गर्ने तय भएसँगै त्यहाँको माहोल अहिले फेरिएको छ ।
यसअघि केही समय उडान गरेर बीचमा स्थगित गरेको जजीराले पुनः कात्तिक १२ गतेदेखि भैरहवा-कुवेत उडान गर्दैछ ।
कुन–कुन एयरलाइन्सले गर्दैछन् अन्तर्राष्ट्रिय उडान ?
यस्तै, दुबईको वायुसेवा कम्पनी फ्लाई दुबईले कार्तिक २४ गतेदेखि भैरहवामा हप्ताको सातै दिन नियमित उडान गर्दैछ भने थाई एयर एसियाले पनि भैरहवामा छिट्टै उडान शुरू गर्ने बताएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सह–प्रवक्ता ज्ञानेन्द्र भूलले भैरहवामा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने निश्चित भएको बताए ।
‘२८ अक्टोबरबाट कुवेतको जजीराले हप्तामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) भैरहवा उडान गर्दैछ,’ भूलले लोकान्तरसँग भने, ‘९ नोभेम्बरबाट फ्लाई दुबईले सातामा सातै दिन भैरहवा उडान शुरू गर्दैछ । बैंककको थाई एयर एसियाले पनि काठमाडौं उडान शुरू गरिसकेको छ । भैरहवा उडान गर्न २७ अक्टोबरभन्दा अघि नै एक्सन प्लान बुझाउँछौं भनेको छ ।’
भूलले अब भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन नहुने दाबी गरे ।
‘भिजिबिलिटी कम हुँदा पनि स्याटेलाइट इन्स्टल गर्न सक्यौं भने कुनै बेला पनि भैरहवामा समस्या हुने छैन,' उनले भने । जजीरा एयरवेजले उडानका लागि टिकट बुकिङ समेत खुला गरिसकेको छ । नोभेम्बर ९ अर्थात् कार्तिक २४ गतेबाट भैरहवामा उडान शुरू गर्ने गरी टिकट खुला गरेको छ ।
आर्थिक र पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षासहित राज्यले ४२ अर्ब लगानीमा निर्माण गरेको विमानस्थल उद्घाटनपछि उडानविहीन जस्तै अवस्थामा थियो । सरकारले भैरहवा उडान गर्ने विमान कम्पनीहरूलाई सम्पूर्ण छुट सुविधा उपलब्ध गराउने निर्णय समेत गरिसकेको छ ।
अहिले तीनवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गर्ने भएपछि लुम्बिनीमा आशाको सञ्चार छाएको छ ।
अन्तर्राष्ट्रिय उडानको संख्या बढ्दै गएपछि विमानस्थल आवश्यक तयारीमा जुटेको छ । गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी दीपक बज्राचार्यले तीनवटा उडान सञ्चालनका लागि सम्पूर्ण तयारी अवस्थामा रहेको बताए ।
'नेवानिको जहाजसहित अब भैरहवाबाट चारवटा उडान हुनेछन्,’ बज्राचार्यले भने, ' भैरहवाबाट दिल्लीलगायत अन्य शहर र देशमा स्वदेशी कम्पनीहरूले उडान गर्न इच्छुक भए त्यसका लागि हामी रेडी छौं । अब भैरहवा विमानस्थल चलायमान हुने हाम्रो पनि अपेक्षा हो । सरकारले पनि विमानस्थल सञ्चालनका लागि सबै प्रयास गरिरहेको छ ।'

तयार छन् अध्यागमन र वैदेशिक रोजगार विभाग
नागरिक उड्ययन प्राधिकरणसँगै अन्य सरकारी निकाय पनि तातेका छन् । अध्यागमन विभागले पर्यटक तथा वैदेशिक रोजगारमा आउने/जाने यात्रुका लागि चार वटा कोस्क (KOISK) मेसिन जडान गरिसकेको छ भने ९ वटा शक्तिशाली कम्प्युटर पठाइसकेको जनाएको छ ।
अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहालले लोकान्तरसँग भने, 'भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि सम्पूर्ण तयारी गरेका छौं । कहीं कतै कम्पर्माइज हुन दिँदैनौं । अहिले कोस्क मेसिन र अत्याधुनिक कम्प्युटर पठाइसकेका छौं । भोलि (शुक्रबार) हाम्रो प्राविधिक टीम जाँदैछ ।'
त्यस्तै, भैरहवाबाट वैदेशिक रोजगारीका लागि जाने यात्रुका सम्बन्धमा पनि वैदेशिक रोजगार विभागले पनि आफू पूर्णतः तयारीमा रहेको जनाएको छ ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले लोकान्तरसँग भने, 'श्रमको सबै प्रक्रिया अनलाइनमार्फत भइहाल्छ, त्यहाँमाथि बुटवलमा हाम्रो श्रम कार्यालयले सबै हेरिहाल्छ । मेडिकलको प्रक्रिया पनि उतैबाट हुने व्यवस्था छ भने बीमाका लागि पनि काठमाडौं आइरहनु पर्दैन । केही परे हामी छँदैछौं । हाम्रोतर्फबाट कुनै कमजोरी हुनेछैन ।'
भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीले इन्धनको मूल्यलगायत पर्यटन शुल्क र अन्य धेरै सुविधा पाउने प्राधिकरणको भनाइ छ ।
निजी क्षेत्र पनि खुशी
सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रूपमा त्यहाँ आन्तरिक जहाज उड्न थालेका थिए । सोही विमानस्थललाई विस्तार गरेर अहिले अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।
विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले भैरहवा आसपास क्षेत्रमा अर्बौं रूपैयाँ लगानी गरेका छन् । एयरपोर्ट नचल्दा पर्यटन क्षेत्र पनि उँभो लाग्न नसकेको र लगानी संकटमा परेको भन्दै निजी क्षेत्रले पूर्ण क्षमतामा विमानस्थल सञ्चालनमा गर्न आन्दोलनदेखि सरकारसँग पटक–पटक अनुरोध गरेका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले ढिलै भए पनि तीनवटा अन्तर्राष्ट्रिय विमान उडान गर्न तयार हुनु रुपन्देहीसहित समग्र लुम्बिनी प्रदेशका लागि सुखद् पक्ष भएको बताए ।
त्यसका लागि निजी क्षेत्र स्वागत गर्न आतुर रहेको अध्यक्ष अर्यालले बताए ।
भैरहवाको आकाशमा नियमित उडान गर्न कुनै अल्झन छैन । एक घण्टामा ४०० यात्रु ओराल्न र उडान गर्न सक्ने गरी संरचना तयार छ ।
त्रिभुवन विमानस्थल आउँदो नोभेम्बरबाट मर्मतका लागि १० घण्टा बन्द हुने भएकाले पनि गौतमबुद्ध विमानस्थलमा अबदेखि नियमित उडान हुने आशा यस क्षेत्रमा छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीका अध्यक्ष रचना पन्तले अन्य एयरलाइन्सलाई पनि भैरहवा आकर्षित गर्नुपर्ने बताइन् । विमानस्थल निर्माणका लागि मुअब्जा वितरणसहित कूल ४२ अर्ब खर्च भएको छ ।
यसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण उपलब्ध गराएको छ । एडीबीसँग नेपाल सरकारले करिब साढे ७ अर्ब रूपैयाँ ऋण लिएको हो । वि.सं. २०७५ वैशाखदेखि ५ प्रतिशतका दरले ब्याज तिर्न थालिसकिएको छ ।
३२ वर्षमा चुक्ता गर्ने गरी ऋण लिएको र ५ वर्षको अवधिमा ६० करोड मात्र ऋण बैंकलाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । बैंकलाई तिर्नुपर्ने ऋणको ब्याज समेत अहिले विमानस्थलले कमाइरहेको छैन । त्यसैले पनि विमानस्थल कतै ‘सेतो हात्ती’ त बन्ने होइन भन्ने खतरा देखिएको छ ।
विश्वभरका बौद्धमार्गीलाई लुम्बिनीमा आर्कषण गरेर विमानस्थल सञ्चालन गर्दा त्यसबाट देशले आर्थिक लाभ लिनसक्छ । विमानस्थलबाट चीन, भारत, श्रीलंका, थाइल्यान्डजस्ता देशमा सिधा उडान गर्नुपर्ने आवाज पनि उठदै आएको छ ।
विमानस्थल ८०० बिगाहा क्षेत्रफलमा फैलिएको छ । तीन किलोमिटरको ‘रनवे’ रहेको फोर ई क्याटोगोरीको विमानस्थलमा ९ औं क्याटोगोरीका वारुणयन्त्रहरू छन् ।
विमानस्थलसरह उडान र अवतरण हुन सक्ने चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय विमान पार्किङ गर्न सक्ने क्षमता छ ।